यस्तो छ २४ घण्टाको मौसम पूर्वानुमान

केन्द्रभाग मिडिया

पोखरा ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपालको पहाडी भू-भागको नजिक) अवस्थित छ । यसका साथै बंगालको खाडी बाट आइरहेको जलवास्पयुक्त हावाको पनि प्रभाव छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्णतया बदली रही गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना  छ ।

राति देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । यसका कारण उक्त क्षेत्रमा नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

 

  • २९ श्रावण २०८०, सोमबार ०६:४६ प्रकाशित