काठमाडौँ ।
भोटाहिटीस्थित साझा भण्डार सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुचित लाभ लिएर कम मूल्यमा जग्गा बिक्री गरेको आरोपमा बिहीबार विशेष अदालत काठमाडौंमा ९ जनाविरूद्ध मुद्दा हालेको हो ।
लिमिटेडका तत्कालीन अध्यक्ष जयकुमार खड्का, सञ्चालक समितिका तत्कालीन सदस्य आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोलाप्रसाद न्यौपाने र सदस्य सचिव तथा महाप्रबन्धक अमर थापाविरूद्ध मुद्दा दायर भएको छ ।
त्यस्तै तत्कालीन सदस्य योगेन्द्रनाथ कर्माचार्य, दैलेख घर भई काठमाडौंको टोखा(३ बाँसबारी बस्ने गीताकुमारी शाही र बाँके कोहलपुर(११ का सुरोज गिरीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको प्रवक्ता दाहालले बताए ।
साझा भण्डारको नाममा रहेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका(८ को ०(२(० क्षेत्रफल भएको र बाँके कोहलपुर तत्कालीन गाविस वडा नम्बर ३ को ०(२(१७ क्षेत्रफलको जग्गा उनीहरूले बिक्री गरेको आरोप छ ।
अनुसन्धान हुँदा उनीहरूले बिना आधार र हचुवाको भरमा जग्गाको मूल्य कम राखेर बिक्री गरेको आयोगका प्रवक्ता भोला दाहालले बताए ।
तत्कालीन अध्यक्ष खड्का, सदस्य राजवंशी, मानन्धर, थापा, न्यौपाने र थापाविरूद्ध दुवै जग्गाको बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
उनीहरूले संस्थालाई ४ करोड ४ लाख २४ हजार १८१ रुपैयाँ घाटा पुर्याएको भन्दै उक्त बिगो कायम गरी अख्तियारले कैद र जरिवानाको मागदाबी गरेको छ ।
त्यस्तै सदस्य योगेन्द्रनाथ कर्माचार्यले कोहलपुरको जग्गा बिक्री गर्दा संस्थालाई चार करोड ९४ हजार १८१ रुपैयाँ नोक्सानी पुर्याएको आरोप छ । उनीसँग अख्तियारले कोहलपुरको जग्गाको बिगो असुल गरी कैद र जरिवाना मागदाबी गरेको छ ।
गीताकुमारी शाही वीरेन्द्रनगरको जग्गा खरिद गर्ने व्यक्ति हुन् । शाहीले बोलपत्रमा अरुको नाम मात्रको प्रतिस्पर्धा र सहभागिता देखाई मिलेमतो गरी न्यून मूल्यमा जग्गा खरिद गरी संस्थालाई तीन लाख तीस हजार रुपैयाँ हानिनोक्सानी पुर्याएको पुष्टि भएको भन्दै सोही बमोजिम मागदाबी लिएको छ ।













