काठमाडौं।
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा पार्टी विधिसम्मत रुपमा नचलेको भन्दै नेतृत्वको आलोचना भएको छ । बिहिबार बैठकमा बोल्दै केन्द्रीय सदस्यले पार्टी विधिसम्मत रुपले नचलेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। बुधबारदेखि काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले पार्टी विधान अनुरुप नचलेको भन्दै कार्यशैलीमा रुपान्तरण गर्नुपर्ने बताएका हुन्। उनीहरुले पार्टीले बनाएको योजनाहरु कार्यान्वयन नहुने समस्या रहेको पनि बताएका छन्।
बैठकस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै केन्द्रीय सदस्य बलावती शर्माले पार्टीलाई विधि, विधानमा चलाउन नसकिएको बताए। उनले महाधिवेशनले नीति र विधि बनाएपछि कार्यान्वयनमा जाँदा भत्किने गरेको बताए। सांगठनिक रुपमा पनि पार्टी भद्रगोल भएको भन्दै पार्टी संगठनलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको भनाइ छ। त्यस्तै पार्टीको तल्लो कमिटीदेखि नै निर्वाचित भएर नेतृत्वमा आउने व्यवस्था गर्नुपर्ने उनले माग गरे ।
उनले भने, ‘‘पार्टी संगठनलाई विधानसम्मत तरिकाले विधि, विधान अनुसार चलाउनुपर्नेमा जहिल्यै पनि विधान भत्किन्छ हाम्रो। महाधिवेशनमा नीति बनाउँछौ तर कार्यान्वयन गर्न जाने बेलामा त्यो नीति, विधि भत्किन्छ र सबैभन्दा मुख्य समस्या सांगठनिक रुपले, राजनीतिक, वैचारिक रुपले नेतृत्व गर्दागर्दै पनि हाम्रो एजेण्डा हुँदाहुँदै पनि सांगठनिक रुपले माओवादी पार्टी जहिल्यै चुकेको छ। विधि, पद्धति र प्रणालीमा लगेर चलाउन नै चुकेको छ। भद्रगोल, विधिसम्मत रुपले नचलेको भन्ने हाम्रो पार्टीको मुख्य समस्या छ।’’
त्यस्तै केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दिपशिखा’ले पार्टी निरन्तर ओरालो लागेको भन्दै अब यो भन्दा ओरालो लाग्ने ठाउँ नरहेको बताए। ०८४ सालसम्म पुग्दा सरकारले गरेका राम्रा कामहरुको बलमा पहिलो पार्टीका लागि प्रतिस्पर्धा गर्ने स्थिति बनाउनुपर्ने उनको भनाइ छ।
केन्द्रीय सदस्य रामनारायण बिडारीले पार्टीका नेताहरु तल्लो कमिटीबाट निर्वाचित भएर आउनुपर्ने कुरा जोडदार रुपले उठिरहेको बताए।
केन्द्रीय सदस्य तिलक मल्लले बैठकमा नेपालका समाजवादी शक्तिलाई केन्द्रित गरेर देशको नेतृत्व गर्ने कुराको बहस भइरहेको बताउदै सरकारको कामले जनतालाई आशा जघाएको बताए।













