काठमाडौं ।
विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ थुनामुक्त भएकी छन् ।
जिल्ला अदालत, काठमाडौंले हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति नदिएपछि प्रहरीले उनलाई थुनामुक्त गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ । एसपी कुमुध ढुंगेलका अनुसार, प्रमाण लाप गर्ने अवस्था नभएको भन्दै अदालतले हिरासतमा राख्न म्याद नदिएको हो । त्यसपछि दुई साताअघि तामाङ, मगर समुदायका व्यक्तिहरुले दिएको उजुरीको आधारमा उनलाई बुधबार विहान पक्राउ गरिएकी उनलाई छाडिएको उनले बताए ।
पाण्डेले प्राइम टिभीमा प्रसारित अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायको विवाह संस्कारलाई लिएर गरेको टिप्पणीप्रति ती समुदायले आपत्ति जनाएका थिए ।