अझै नियन्त्रणमा आएन हैजाः साढे दुई लाख बढी हैजाको खोप ल्याँइदैँ

केन्द्रभाग मिडिया

कपिलवस्तुमा फैलिएको हैजाका बिरामी

काठमाडौं ।

कपिलवस्तुमा फैलिएको हैजा अझै नियन्त्रणमा आउन सकेको छैन । हैजा देखिएको एक महिनासम्म नि नियन्त्रणमा नआएपछि सरकारले हैजाविरुद्धको खोप लगाएरै रोग नियन्त्रण गर्ने भएको छ ।

विश्व स्वास्थ्य संगठनले साढे दुई लाख मात्राभन्दा बढी खोप नेपाललाई दिने निर्णय गरेको अधिकारीहरुले बताएका छन् । संयुक्त राष्ट्रसङ्घीय बालकोष (यूनिसेफ) मार्फत् आउने उक्त खोप नेपाल आउनासाथ खोप कार्यक्रम सुरु गरिने जनाइएको छ ।

दुई लाख ५२,३६३ डोज खोप स्वीकृति भएको पत्र विश्व स्वास्थ्य सङ्गठनबाट पठाएको जनाइएको छ । कृष्णनगर, महाराजगन्ज, शिवराज, विजयनगर र यशोधरा लगायतका पालिकाका जोखिममा रहेको जनसङ्ख्या हेरेर उक्त मात्रामा खोप मगाइएको हो।हैजाको खोप विश्व स्वास्थ्य सङ्गठनको भण्डारमा मात्रै रहने भएकाले खोप आवश्यक परेमा फेरि ऊसँगै माग गर्नुपर्ने अवस्था रहेको छ।

गत असोज १८ गतेदेखि कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा झाडापखाला र बान्ताका बिरामीहरू देखिन थालेका थिए।प्रयोगशाला परीक्षणका क्रममा उनीहरूमा हैजा भएको प्रमाणित भएको थियो।

हालसम्म हैजाबाट १,३२९ जना प्रभावित भएको तथा छ मृत्यु भएको सरकारी तथ्याङ्क छ। अझै दुई जनाको उपचार भइरहेको छ।
हैजाविरुद्धको यो खोप उक्त क्षेत्रका सबै नागरिकलाई दुई मात्रा दिइने बताइएको छ।केही दिनअघि सप्तरी जिल्लामा पनि हैजाको प्रकोप देखिएको तर त्यहाँ भने स्थिति नियन्त्रणमा आउने क्रममा रहेको बताइएको छ।

हैजा विरुद्धको खोपको प्रभावकारिता ७० प्रतिशत मात्रै भएकाले खोपसँगै सरसफाइमा ध्यान दिनु आवश्यक रहेको अधिकारीहरूको भनाइ छ। सफा पानी पिउने, शौचालयमा दिसापिसाब गर्ने, खान बनाउनु र खानुअघि हात धुने जस्ता कार्य नगरेसम्म हैजाको प्रकोप फैलिन सक्ने डर सधैँ रहनेछ।

नेपालमा विभिन्न स्थानमा बेलाबेला हैजाको महामारी देखिने गरेको छ। काठमाण्डू उपत्यका नै सबैभन्दा बढी जोखिममा रहेको अधिकारीहरूको भनाइ छ। सन् २००९ मा जाजरकोटमा धेरै मानिसको ज्यान जानेगरी हैजा फैलिएको थियो। बैतडी, डोटी, बाँके र रौतहट लगायतका जिल्लाहरूमा पनि पटकपटक हैजा देखा परेको छ।

  • २३ कार्तिक २०७८, मंगलवार ०९:२२ प्रकाशित