तेल अभिभ ।
इजरायली सेनाले दक्षिणी गाजाको खान युनिसमा गरेको लक्षित कारबाहीका क्रममा हमासको वित्त विभागका प्रमुख मोहम्मद अबु अलवान मारिएका छन्।
इजरायली प्रधानमन्त्रीको कार्यालयबाट जारी संयुक्त वक्तव्यमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षा मन्त्री इजरायल कात्जले इजरायल रक्षा बल (आईडीएफ)र इजरायली सुरक्षा एजेन्सी (आईएसए)को संयुक्त प्रयासमा उक्त आक्रमण गरिएको स्पष्ट पारेका हुन्।
वक्तव्यमा भनिएको छ, ‘आईडीएफले खान युनिसमा हमास आतङ्ककारी सङ्गठनका वित्त विभाग प्रमुख मोहम्मद अबु अलवानलाई मारेको छ। प्रधानमन्त्री र रक्षा मन्त्रीले यो सटीक कारबाहीका लागि सेना र सुरक्षा निकायको प्रशंसा गरेका छन्।’
इजरायली नेतृत्वले गाजामा हमासको अस्तित्व समाप्त नभएसम्म उसैको नेतृत्व र वित्तीय सञ्जालविरुद्धको कारबाही निरन्तर जारी रहने चेतावनी दिएको छ। नेतान्याहु र कात्जले हमासका कमान्डरहरूलाई खोजेर सिध्याउने, उनीहरूको लगानीका स्रोतमा प्रहार गर्ने र आतङ्ककारी संरचना नष्ट गर्ने बताउँदै हमासलाई पुनः शक्ति सञ्चय गर्न नदिने स्पष्ट पारेका छन्।एजेन्सी













