हत्या !

प्रहरी नायब निरीक्षक उज्जव पौडेलको हत्या भएको प्रारम्भिक निष्कर्ष

केन्द्रभाग मिडिया

पोखरा ।

साउन ८ गते राती मृत भेटिएका इलाका प्रहरी कार्यालय भिमगिठ्ठे बागलुङका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको हत्या भएको निष्कर्ष निकालिएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले आज (बुधबार) प्रेस विज्ञप्ती जारी गर्दै पौडेलको हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको हो ।

प्रारम्भिक अनुसन्धानबाट पौडेल जुन होटलमा मृत भेटिएका थिए सोही होटल चलाउँदै आएकी ५१ वर्षीया आशा कुँवर र निजका छोरा २१ वर्षीया विनोद कुँवरले हत्या गरेको निष्कर्ष निस्किएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।हत्या भएको पुष्टि गर्दै हत्या आरोपमा आमा छोरा आशा र बिनोदलाई प्रहरीले पक्राउ गरेको छ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘इलाका प्रहरी कार्यालय भिमगिठ्ठे बागलुङमा कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक उज्जल पौडेल मिति २०८० साउन ८ गते ८ बजेको समयमा जिल्ला बागलुङ बडिगाड गाउँपालिका ६ खालबजार स्थित आशा होटल एण्ड खाजा घरमा गएकोमा सोही होटलका सञ्चालिका आशा कुँवर र निजतको छोरा विनोद कुँवरसँग विवाद हुँदा उज्जल पौडेलको टाउकोमा मुक्काले मरणासन्न हुने गरी कुटपिट गरी छातीमा लात्तिले प्रहरी गरी बेहोस भई भुँईमा ढलेपछि पर्दाको कपडाले घाँटीमा कसी साढे ११ बजेको समयमा हत्या गरेको र मृतकले घाँटीमा लगाएको सुनको सिक्रीसमेत निकाली किचन र्याकमा लुकाई राखेको अवस्थामा फेला परेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको हुँदा घटनामा संलग्न निम्न दुई जनालाई नियन्त्रणमा लिई ज्यान सम्बन्धि कसुरमा थप अनुसन्धान कार्य गरिरहेको छ ।’

 मृतक पौडेलको पोष्टमार्टम गण्डकी अस्पताल पोखरामा गरिने बताइएको छ  ।

  • १० श्रावण २०८०, बुधबार १७:०७ प्रकाशित