पाल्पा ।
अविरल वर्षाले सिद्धार्थ राजमार्ग, पाल्पा–गुल्मी र कालीगण्डकी करिडोर सडकअन्तर्गत पाल्पा खण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा खण्डका ठाउँठाउँमा पहिरो खस्दा मंगलबार बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
राजमार्गको तिनाउ गाउँपालिका–३, को सिद्धबाबा खण्डअन्तर्गत हेडवर्क्समा ठूलो पहिरो खसेको छ । प्रहरीका अनुसार पहिरो खुलाउन कम्तीमा दुई घण्टा लाग्छ । ढुंगासहितको पहिरो खसेको र निरन्तर वर्षाले सफा गर्न समस्या भएको छ ।
राजमार्गअन्तर्गत पानीमिल, हिउँदेखोला, डुम्रेलगायत दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको राजमार्गका प्रहरी युनिटले जनाएका छन् । पानी परिरहेकाले पहिरो सफा गर्न नसकिएको दोभान प्रहरी चौकीले जनाएको छ । सिद्धबाबा क्षेत्रमा सडक अवरुद्ध भएपछि तराईबाट पहाडी जिल्लामा चल्ने सवारी साधन बुटवलमै रोकिएको प्रहरी चौकी दोभानले जनाएको छ ।
बर्तुङदेखि डुम्रेसम्म पनि ठाउँठाउँमा पहिरो खसेको छ ।














