हट्ला त फिर्केको अतिक्रमण ?

शंकाको घेरामा मेयर आचार्य ! आशावादी अभियान्ता

केन्द्रभाग मिडिया

पोखरा ।

पाँच वर्ष भन्दा अगाडि अर्थात १ असार २०७५ मा पोखरा महानगरका तत्कालिन प्रमुख मानबहादुर जिसीले पोखराको फिर्के खोलामा पैदल मार्ग निर्माण गर्ने भन्दै डोजर चलाए । पैदल मार्ग निर्माणको उद्घाटन गर्ने कार्यक्रममा डोजर चलाएका तत्कालिन मेयर जिसीले झुक्किएर डोजरको लिभर दबाउँदा डोजरको बकेटले लागेर रेलिङ भत्काउदा त्यसैमा आड लगाएर उद्घाटनको फोटो खिचिरहेका पत्रकारसहित ५ जना घाइते भएका थिए ।

त्यसपछि फिर्केखोलामा पैदलमार्ग बनाउने योजना अलपत्र रह्यो । तत्कालिन मेयर जिसीको कार्यकाल सकिएपछि मेयर बनेका धनराज आचार्यले कार्यभार समालेको पनि एक वर्ष पुरा भइसकेको छ । तर, फिर्के खोलामा केही अभियान्ताहरुले सफाई गर्ने र महानगरको तर्फबाट  झाडी फाल्ने बाहेक केही हुन सकेको छैन ।

जिसीले डोजर चलाएकोे ठिक पाँच वर्ष एक महिना पछि अर्थात १ साउन २०८० मा पोखरा महानगरले फिर्के खोलाको वास्तविक आकार के हो ? भनेर खोज्ने भन्दै सूचना निकाल्यो र त्यही सूचना अनुसार बुधबार फिर्केको नापाजाँच सुरु भएको छ । नापजाँच कार्यको आरम्भ गर्दै महानगर प्रमुख आचार्यले फिर्के, सेती र अरु खोलाको पनि मापदण्ड टुंग्याएर मापदण्ड भित्र परेका संरचना भत्काउने जानकारी दिएका छन् ।

यस अगाडि तत्कालिन पोखरा उपत्यका नगरविकास समितिका अध्यक्ष जीतबहादुर तमुले पनि फिर्के मापदण्ड क्लियर गर्ने भन्दै डोजर चलाएका थिए । विभिन्न समय फिर्के खोलाका मापदण्ड घटाउने सर्वे गर्ने क्रियाकलाप नभएका होइनन् । अहिले पनि मेयर आचार्यले फिर्केको मापदण्ड कायम गराउँछन् र फिर्केलाई आफ्नै प्राकृतिक बहावमा बग्ने वातावरण बनाउँछन् भन्नेमा अभियान्ताहरु ढुक्क देखिँदैनन् ।

फिर्केखोला अतिक्रमण मात्रै नभएर यसमा अतिक्रमित संरचनाबाट ढल तथा मलमूत्र समेत मिसाउने गरिएको छ । महानगरका मेयर धनराज आचार्यले यस अगाडि कारागार लगायत सरकारी, संस्था र व्यक्तिका घरबाट समेत फिर्केमा सिधै ढल मिसाएको पाइएको सार्वजनिक कार्यक्रममा नै बताउने गरेका छन् । यसरी ढल मिसाउनेहरुलाई हटाउन पत्राचार गरिएको र नहटाए कारबाही गर्ने उद्घोष नै गरेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले लायन्स लगायत विभिन्न संघसंस्थाले फिर्के अतिक्रमण गरि संरचना बनाएको भन्दै त्यसलाई हटाएर देखाउन मेयर आचार्यलाई सर्वसाधारणले चुनौती नै दिएका छन् ।

कतिपयले ‘मेयर आचार्यले स्टण्ड गर्छन्, काम गर्दैनन्’ समेत भनेका छन् र यो त्यसैको निरन्तरताको रुपमा अथ्र्याएका छन् । तर, मेयरको फिर्केको नापजाँच गर्ने र विभिन्न चरणमा काम गरेर फिर्के खोलाको स्वच्छता कायम गराउने उद्घोषसहितको कदमलाई साथ दिनुपर्ने पोखरा उपत्यका नगरविकास समितिका पूर्व अध्यक्ष विश्वप्रकाश लामिछाने बताउँछन् । उनले मेयरको फिर्के बचाउने कामको सुरुवातलाई स्वागत गर्दै सबैले यस अभियानलाई साथ दिन आग्रह समेत गरे । उनले अब संरक्षणको युगको नै सुरुवात भएको टिप्पणी गरे । राम्रोलाई राम्रो भन्नुपर्ने र हाम्रो भन्ने आँट सबैले गर्नुपर्ने टिप्पणी गरेका उनले फिर्के करिडोर बनाउने दीर्घकालिन लक्ष्य पुरा हुने आशा पलाएको बताए ।

नागरिक अभियान्ता रामबहादुर पौडेलले मेयर आचार्यमा केही गर्ने हुटहुटी रहेको बताए । फिर्केखोलाको मापदण्ड कायम गराउन मेयर आचार्यले थालेको काम प्रसंसनीय रहेको बताएका उनले २०३२ सालको नापीलाई आधार बनाएर काम गर्न आग्रह गरेका छन् । ‘२०३२ को नापीलाई आधार बनाउने अनि हालसावी के कस्तो छ भनेर हेर्ने हो भने फिर्के करिडोरको परियोजना सम्पन्न गर्न कठिन छैन ।’ उनले भने, ‘मेयर सावको यो अभियानलाई सबैले साथ दिनुपर्छ ।’

अभियान्ता पौडेलले फिर्केखोलामा २४ वटा विवादित पोइन्ट रहेका औल्याएका छन् । त्यसमा ४/५ वटा पोइन्टमा धेरै समस्या रहेको उनले सुनाए । फिर्केखोलाको मापदण्ड कायम गर्दै करिडोर निर्माण गर्ने मेयर आचार्यको अभियान सफल हुँदा फेवाताल, समग्र पोखरेली र अझ फिर्केको आसपासमा बस्नेहरुका लागि गौरव बढ्ने उनको भनाई छ । ‘फिर्के मापदण्ड कायम भएर यसको करिडोर बन्दा फेवाताल, समग्र पोखरेली र खासगरी फिर्के वरपरका वासिन्दाको गौरव बढ्छ’ उनले भने ।

पाडेलले मेयर आचार्यलाई थालेका काम पुरा गर्न दृढतापूर्वक लाग्न समेत सुझाव दिएका छन् । कतिपय अवस्थामा मेयर आचार्य घोषणा गरेर व्याक हुनेगरेको प्रसंग कोट्याउँदै उनले राम्रो काममा सबैले साथ दिने हुँदा खुट्टा कमाउन नहुने समेत धारणा राखे ।

हल्ला नगरी काम गर्ने मुडमा मेयर आचार्य

पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई हल्ला गर्ने तर काम नगर्ने आरोप लाग्ने गरेको छ । सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले गफ गरेर नभई काम गरेर देखाउन चुनौती दिने गरेका छन् । फेवा, फिर्के, सिमसार क्षेत्र संरक्षण र खाल्डाखुल्डी पुर्ने जस्ता विषयमा धेरै नै मेयर आचार्यले धेरै नै आलोचना खेपेका छन् । सडकमा पार्किङ निषेधको घोषणा बाट ब्याक भएको, फेवातालको ६५ मिटरको मापदण्ड भित्रै अबैध संरचना निर्माण कार्य रोक्न नसकेको, बृजकोर्स रोक्न निर्णय गरेरपनि कार्यान्वयनमा लैजान नसकेको र फेवाको सिमसार क्षेत्र पुर्ने क्रम रोक्न नसकेको जस्ता विभिन्न विषयमा उनको आलोचना भएको छ ।

घोषणा गर्ने तर काम फटाफट नहुँदा आलोचना बढ्ने भएपछि मेयर आचार्यले पछिल्ला दिनमा घोषणा कम गर्ने तर कार्यान्वयनमा जाने निस्कर्षमा पुगेका छन् । तर मेयर आचार्यका स्वकीय सचिव पूर्ण लामा भने मेयर आचार्य सधैं काममै फोकस रहेको दाबी गर्छन् । काम गर्नेक्रममा हुने आलोचना र समर्थनलाई स्वभाविक मान्नुपर्ने बताएका उनले पछिल्ला दिनमा घोषणा नगरी पहिला तयारी गर्ने गरेको बताए । पृथ्वीचोक देखि विजयपुरसम्म सडकको दायाँबायाँ बनेका मापदण्ड भित्रका संरचनामा डोजर चलाउँदा होस् या अहिले फिर्केखोलाको सिमांकन गर्ने काम गर्नेसवालमा महानगरले सुरुमा हल्ला नगरी भित्रभित्रै तयारी गरेको र काम थाल्ने बेलामा मात्र जानकारी गराएको उनले स्विकार गरे । सुरुमै घोषणा हुँदा चलखेल हुनेगरेको उनको टिप्पणी छ ।

मेयर आचर्यको दृढता : मापदण्डमा परेमा प्रहरी कार्यालय र अदालत केही भन्दिन

पोखरा महानगरका प्रमुख धनराज आचार्यले फिर्के खोलाको मापदण्डमा आफ्नै कार्यालय (उपत्यका नगर विकास समिति) भवन परेपनि भत्काउने उद्घोष गरेका छन् । फिर्केको नापजाँचको आरम्भ गरेपछि उनले अहिले मापदण्ड टुंग्याइने र अर्को चरणमा मापदण्डमा परेका संरचना खाली गर्ने प्रतिक्रिया दिए । ‘अहिले यसको वास्तविक मापदण्ड के हो भनेर नापजाँच गरेका हौं ।

गाईघाटबाट सुरु नापजाँचको काम अँधेरीकूना पुगेर टुंगिन्छ ।’ उनले भने, ‘दोस्रो चरणमा सूचना दिएर मापदण्डा भित्रका संरचना खाली गराइन्छ । नापजाँचको क्रममा प्रहरीका कार्यालय, अदालत वा म अध्यक्ष रहेको उपत्यका नगरविकास समितिको कार्यालय नै मापदण्ड भित्र परेको रहेछ भनेपनि खाली गराइन्छ ।’

 

  • ३ श्रावण २०८०, बुधबार १९:१६ प्रकाशित