वर्तमान सरकारले संविधानको रक्षा गर्दैन : देवेन्द्र पौडेल

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं गण्डकी प्रदेश ईन्चार्ज देवेन्द्र पौडेलले वर्तमान सरकारले संविधानको रक्षा गर्न नसक्ने र रक्षा गर्ने प्रयास पनि नगर्ने बताएका छन् । कास्कीमा जागरण अभियानको आइतबार शुरुवात गर्दै उनले यस्तो बताएका हुन् । संविधान र व्यवस्थाको रक्षाका लागि नेकपासहित पुराना पार्टीहरु पुनःजागृत हुन जरुरी रहेको उनको भनाई छ । ‘अहिले संविधान कोमामा छ, यसलाई मृत घोषणा त गरिएको छैन तर यसले काम पनि गरिरहेको छैन । वर्तमान सरकारले संविधान रक्षा गर्दैन र गर्नेतर्फ पनि छैन’ उनले भने ।

नेता पौडेलले नेपालमा कम्युनिस्ट आन्दोलन पुरानै अवस्थामा फर्कने कूरामा चौतफी प्रश्न उठिरहेको प्रसंग कोट्याँउदै पार्टी बन्ने र बनाएर देखाइने टिप्पणी गरे । उनले कम्युनिस्ट आन्दोलनमा पुनः जागरण ल्याउन नेकपाको जागरण अभियान सार्थक हुने धारणा राखे । चुपचाप घण्टीछापको भ्रमबाट मुक्त बनाउन अभियान सार्थक हुने उनको विश्वास थियो।

नेकपा गण्डकीका सहईञ्चार्ज श्रीनाथ बरालले निरकुंश घण्टी सरकारबाट देश र जनालाई मुक्त गर्न नेकपामा जागरण आवश्यक रहेको बताए । पुराना लोकतान्त्रिक पार्टीको विकल्प वर्तमान घण्टी सरकार र उसको पार्टी हुनै सक्दैन,उनले भने,‘जनतामा टुटेको सम्बन्ध र छुटेको विस्वास फर्काउन जागरण अभियान सफल बनाएरै छाड्छौं ।’

नेकपा कास्कीका पूर्व ईञ्चार्ज राजकाजी गुरुङले जागरण अभियान आफूलाई पनि रुपान्तरण गर्ने अभियान भएको बताए । हिजो भएका कमीकमजोरी सुधार्दै पार्टीलाई सुदृढ बनाउनु यो अभियानको मुख्य उद्धेश्य हो,उनले भने,‘नयाको नाममा भइरहेको अराजकता, कुशासन र घृणाबाट मुक्त गराई राष्ट्रिय स्वाधिनता जोगाउन, सार्वभौकिता जोगाउन र नया लेण्डुप दोर्जेहरुबाट देश जोगाउनका लागि जनतालाई बुझाउनु पनि यसको मक्सद हो ।’

कास्की सहईञ्चार्ज तेजकुमारी पौडेलले संकटमा फसेको देशलाई उन्मुक्ति गराई सरकारले गरेका गलत कदम र कामकारवाहीको भण्डाफोर गरि जनताको विस्वास जित्ने प्रयास जागरण अभियानमा गरिने बताईन् ।

नेकपा कास्कीका ईञ्चार्ज रामजीप्रसाद बरालले पार्टीको खस्किदो साख उकासेर पुरानै अवस्थामा फर्काउने प्रयास जागरण अभियानमार्फत शुरु गरिएको बताए । हिजोको मजबुत अवस्थाबाट अहिलेको कमजोर अवस्थासम्म आईपुगेका छौं,उनले भने,‘ अब रफ्तारका साथ पार्टीलाई पुरानै अवस्थामा फर्काउन संकल्पसहित जागरण अभियान लिएर गाउँ, घर र परिवारसम्म पुग्दैछौं ।’

उनका अनुसार पार्टीले कास्कीमा नवीकरण गर्न बाँकी ६ हजार जनाको पार्टी सदस्यता नवीकरण गर्नेगरी जागरण अभियान सञ्चालन गर्नेछ । जसअनुसार पोखरा महानगरका २ हजार ९ सय ५०,, मादी गाउँपालिकाले १ हजार, माछापुच्छ्रे गाउँपालिकामा ७ सय ५० जना, अन्नपूर्ण गाउँपालिकामा ८ सय र रुपा गाउँपालिकामा ५ सय पार्टी सदस्यको पार्टी सदस्यता नवीकरण गर्नेगरी अभियान सञ्चालन हुने उनको भनाई छ ।

नेकपा कास्कीका संयोजक खड्ग हमालले पार्टी कमिटीले आ–आफ्ना पालिकाका संघ, संस्था, क्लव, आमा समूहलगायतसँग छलफल र अन्तरक्रियासमेत गर्ने जानकारी दिए । उनका अनुसार पोखरा महानगर कमिटीले पोखराका ६ सय ६० संघसंस्था, रुपा गाउँपालिका कमिटीले ३५ वटा संघसंस्था तथा क्लव, मादी गाउँपालिका कमिटीले ६० वटा संघसंस्था तथा क्लव, माछापुच्छ्रे गाउँ कमिटीले ४५ वटा संघसंस्था तथा क्लव र अन्नपूर्ण गाउँपालिका कमिटीले ५५ वटा संघसंस्थासम्म पुगेर छलफल तथा अन्तरक्रिया गर्नेछन् ।

दुई महिने अभियान अन्तर्गत मंसिर ११ गतेदेखि जनतासँग भेटघाट कार्यक्रम सञ्चालन हुने नेकपा कास्कीका सहसंयोजक विनय थापाले जानकारी दिए ।

 

  • १५ कार्तिक २०८३, आईतवार १९:२२ प्रकाशित