स्याङ्जामा ट्याक्टर पल्टिँदा दुई जनाको ज्यान गुम्यो, तीन घाइते

केन्द्रभाग मिडिया

स्याङ्जा ।
स्याङ्जाको वालिङ नगरपालिका–९ गाइश्वारामा ट्याक्टर पल्टिँदा दुई जनाको ज्यान गुमेको छ भने तीन जना घाइते भएका छन् । शनिबार साँझ करिब ६ः५० बजे हुवासबाट वालिङतर्फ आउँदै गरेको ग १ त ५७६९ नम्बरको ट्याक्टर वालिङ–हुवास भित्री सडकखण्डमा अचानक सडकको बायाँ कुनामा पल्टिएको हो ।

दुर्घटनामा ट्याक्टरमा सवार पाँच जना घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएकोमा दुई जनाको उपचारकै क्रममा ज्यान गुमेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

स्याङ्जा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार ज्यान गुमाउनेमा वालिङ नगरपालिका–१० का ६१ वर्षीय नन्दु भन्ने नन्दलाल बुढामगर र पर्वत घर भई हाल वालिङ नगरपालिका–१० बस्दै आएका ४३ वर्षीय प्रेम राना मगर रहेका छन् । बुढामगरलाई साँझ ७ः३५ बजे र रानामगरलाई राति ८ः२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा ट्याक्टर चालक दाङको शान्तिनगर गाउँपालिका–१ निवासी ३७ वर्षीय धनविर पुन मगर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, ट्याक्टरमा सवार वालिङ नगरपालिका–१० का २० वर्षीय सुलभ परियारको बायाँ हात, खुट्टा र कम्मरमा चोट लागेको छ । सोही ठाउँका ४६ वर्षीय झकबहादुर थापाको दाहिने हात र ढाडमा चोट लागेको छ । दुवैको अवस्था मध्यम रहेको छ ।

घटनालगत्तै वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर उद्धार तथा अनुसन्धान अघि बढाएको छ । ट्याक्टर दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • १५ कार्तिक २०८३, आईतवार २१:३२ प्रकाशित