काठमाडौं ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेको इजलासमा आज ५ मुद्दाको सुनुवाई भएको छ ।
न्यायाधीशहरुको इजलास बहिष्कारका बीच जबराले बुधबार आफूमात्रै रहने इजलास तोकेर मुद्दाको सुनुवाइ गरेका हुन। जसमा दुई मुद्दामा कारण देखाउन आदेश जारी गरेका छन् भने एक मुद्दा तामेलीमा राखेका छन् । यस्तै एउटा मुद्दा फिर्ता गर्ने र अर्कोमा कैफियत माग गर्ने आदेश भएको छ ।
लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दालाई तामेलीमा राख्ने आदेश भएको छ । यस्तै सम्पत्ति शुद्धीकरणसम्बन्धी मधुकुमारी चौधरी विपक्षी रहेको मुद्दामा निवेदन फिर्ता लिने आदेश भएको छ भने ज्ञानबहादुर जोगीको बन्दी प्रत्यक्षीकरणको मुद्दा, जिल्ला अदालत कास्की विरुद्धको बन्दी प्रत्यक्षीकरणको मुद्दामा कारण देखाउ आदेश जारी भएको छ ।
यस्तै कालो बजार तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरमा नेपाल सरकार विपक्षी रहेको रोशन जैसवालले दायर गरेको मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश भएको छ ।