जंगली च्याउ खाँदा दुई बालबालिकासहित एकै परिवारका ३ को ज्यान गयो

केन्द्रभाग मिडिया

रोल्पा ।

जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको ज्यान गएको छ । २८ असारमा जंगलबाट ल्याएको च्याउ खाएका कारण दुई बालक र उनीहरुकी आमाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

लुंग्री गाउँपालिका–५ कालापोखरा घर भएका ३३ वर्षिया भीमा गुरुङ उनका ११ वर्षका छोरा सुशील गुरुङ र ६ वर्षका छोरा प्रेम गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पा बताएको छ ।

जंगली च्याउ खाई बिरामी परेपछि २८ असारमै उनीहरुलाई उपचारका लागि सुलीचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल वुटवल लगिएको थियो । उनीहरु तीनै जनाको बुटवलमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले जानकारी दिए ।

लुंग्री गाउँपालिका–५ बुझिङमा जंगली च्याउ खाएका कारण ५ जना बिरामी परेका छन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

  • ३१ असार २०८०, आईतवार १६:२७ प्रकाशित