काठमाडौं।
१६औं गणतन्त्र दिवसको औपचारिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर र उपमेयर अनुपस्थित भएका छन् ।सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित गणतन्त्र दिवश समारोहमा मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल उपस्थित भएनन् ।
गणतन्त्र दिवशको मूल आयोजक समितिको सदस्यमा काठमाडौं महानगरपालिकाका मेयर पनि रहन्छन् । मेयर बालेनका स्वकीय सचिवालयले बालेन पारिवारिक कामले औपचारिक समारोहमा सहभागी नभएको बताएको छ ।
महानगरका प्रवक्ता नविन मानन्धरले महानगरपालिकाको प्रमुख र उपप्रमुख हरेक गणतन्त्र दिवसमा सहभागी हुँदै आएको बताए । ‘म वडाध्यक्ष निर्वाचित भएको ६ वर्ष भयो, अहिलेसम्म सबै पटक सहभागी भएको थाहा छ, अब यो पटक किन सहभागी भएनन् मलाई नै थाहा छैन,’ प्रवक्ता मानन्धरले भने ।
समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन भने सहभागी भएका थिए ।














