पोखरा ।
पोखरा महानगरपालिकाले किसानलाई जेठोबुढो धानको बीउ वितरण गरेको छ । महानगरले १० हजार किलो पोखरेली जेठोबुढो धानको बीउ वितरण गरेको हो ।
पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले विभिन्न कृषक समूहबाट खरिद गरी ५० प्रतिशत अनुदानमा १० हजार किलो पोखरेली जेठोबुढो धानको बीउ वितरण गरिएको जानकारी दिए ।
महाशाखाले समूहबाट प्रतिकिलो २ सयमा खरिद गरी ५० प्रतिशत अनुदान दिएर १ सयमा कृषकलाई उपलब्ध गराएको हो । कृषक समूहबाट उत्पादित बीउ गण्डकी प्रदेश बीउविजन प्रयोगशालाले परीक्षण गरी प्रमाणीकरण गरेको छ ।
पोखरेली जेठोबुढोको बीउको माग गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, बागलुङ, पर्वत, म्याग्दीलगायत जिल्लामा पनि हुने गरेको छ ।














