पोखरा ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदीय निर्वाचन पछि एक पटक एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी बीच पुन सहकार्यगर्दै अगाडि बढ्ने प्रयास भएको खुलासा गरेका छन् । पोखरामा आइतबार एकीकृत समाजवादीले गरेको प्रदेश स्तरीय समीक्षा भेलालाई सम्बोधन गर्दै उनले यस्तो खुलासा गरेका हुन् । तर, त्यो प्रयासलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले नचाहँदा अगाडि बढाउन नसकिएको उनले खुलाए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेको सहयोगमा प्रधानमन्त्री बनेपछि प्रचण्डले आफूलाई एक पटक केपी ओलीसहित संयुक्त बसाई बसेर कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन प्रस्ताव गरेको र आफूले विष पिएरै भएपनि नेपालको कम्युनिष्ट आन्दोलन सम्हालिन्छ भने हुन्छ कुरा गरौं भनेको स्मरण गरे । अध्यक्ष नेपालले ओलीकै कारण पछिल्लो बनेको एमाले र माओवादीको समिकरण समेत भत्किएको आरोप लगाए । ‘प्रधानमन्त्री भएपछि माओवादी अध्यक्ष कम्रेड प्रचण्डले एक पटक तपाई, म र एमाले अध्यक्ष ओली एक ठाउँमा बसौं । कम्युनिष्ट आन्दोलनलाई एकीकृतढंगले अगाडि बढाउने प्रयास गरौं भन्नुभयो । मैले कम्युनिष्ट अन्दोलन सम्हालिन्छ भने केही छैन भनेर विष पिएरै भएपनि हुन्छ प्रयास गर्नुहोस्, म तयार छु भनेको हो । तर, ओलीले मेरो नाम लिनेवित्तिकै को माधव नेपाल भनेछन् । कुन एकीकृत समाजवादी भनेछन् । त्यसपछि प्रचण्डजी पनि झस्कनुभयो । ओलीले प्रचण्ड आफूसंग निहुरिएर आएको भ्रम पाल्दा पछिल्लो भएको सहकार्यसमेत उनकै कारण टुटाए’ उनले भने ।
ओलीसहितको सहकार्य अगाडि बढ्न नसक्ने देखेर नै प्रचण्डको आग्रहमा आफूले कांग्रेसलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिन मनाएको समेत उनले खुलाएका छन् । अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले कांग्रेसले ढोक्सा थापेको कुरा बेलैमा बुझेको तर त्यसपछि पनि समयमै आफू नसच्चिएको टिप्पणी गरे ।
उनले कांग्रेसले ढोक्सा थाप्दा समेत अहंकार पालेका ओलीले ढिलागरी आफूलाई राष्ट्रपतिको आफर गरेर अफ्ट्यारो पारिदिएको सुनाए । ‘कांग्रेसले चुनाव पछि अहंकार देखायो । केपी ओलीले नै प्रचण्डलाई प्रधानमन्त्री हुन दिन्नौं भनेर कांग्रेसलाइ आफै समर्थन गर्ने बताए । अनि परिस्थिति फेरिएको थियो । फेरी ओलीले आफै प्रधानमन्त्री जसरी प्रस्तुत भए । अनि प्रचण्डले अब नहुने भयो भनेर मलाई कांग्रेससंग सहकार्य अगाडि बढाइदिन आग्रह गरे । त्यसपछि मैले नै कांग्रेसलाई ढोक्सा थाप्नका लागि मनाइदिएको हो ।
सुरुमा अहंकार देखाएका ओलीले अन्तिममा मलाई नै राष्ट्रपतिमा अगाडि सारेर अप्ठ्यारो पारिदिन खोजे । अनि एमालेका केही सांसद भन्दै थिए, माधव नेपाललाई राष्ट्रपति स्विकार्दैनौं विपक्षमा मत हाल्छौं । अनि मैले दिएको बचनलाई पनि काट्न हुँदैनथ्यो । कांग्रेससंगको सहयर्का टुटाउने अनि मलाई एमालेका सांसदले नै मत नदिने गरेर म राष्ट्रपतिमा हार्दा पाटीको अवस्था के हुन्थ्यो । त्यसैले इमान्दारिता र आन्दोलन जोगाउन मैले राष्ट्रपतिको प्रस्ताव अस्विकार गरेको हो ।’ उनले भने, ‘पछि फेरी ओलीले लौ मलाई राष्ट्रपति बनाउनुहोस् भन्दै माधव नेपाल मसंग आए भनेर प्रचार गर्दिए । म किन ओलीसंग माग्न जाने ? बोलाएर उल्टै माग्यो भन्छन् ।’













