पोखरा ।
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालले एमाले अध्यक्ष केपी शर्मा ओली एमालेको ब्रेन ट्युमर रहेको टिप्पणी गरेका छन् । पोखरामा आइतबार आयोजित गण्डकी प्रदेश स्तरीय एकीकृत समाजवादीको संगठन सुदृढिकरण अभियान समिक्षा तथा कार्ययोजना कार्यान्वयन भेलालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
https://www.facebook.com/KendraKhabar/videos/246871234557619
महासचिव भुषालले एमालेमा ब्रेन ट्युमरको रुपमा रहेको अध्यक्ष ओलीको विचार र शैली पराजित नहुँदासम्म एमाले नसुध्रिने बताए । एमालेमा इमान्दार कम्युनिष्टहरुको ठूलो तप्काले अहिलेपनि ओली सच्चिने आसा गरिरहेको भन्दै उनले ट्युमरको रुपमा रहेको ओलीको कार्यशैली र विचार नफाल्दासम्म एमाले नसच्चिने ठोकुवा गरे ।
उनले एमाले ओलीको विचार र कार्यशैलीबाट मुक्त हुने हो भने अझैपनि ठूलो शक्ति रहेको धारणा राखे । ‘पार्टी नै अलग भएपछि एमालेको विषयमा धेरै चिन्ता र टिप्पणी गर्न जरुरी होइन । तर, त्यो पार्टीमा पनि सच्चा कम्युनिष्ट विचार भएकाहरुको तप्का ठूलो छ । त्यो तप्का अझैपनि एमाले सुध्रिन्छ भन्ने भ्रम पालेर बसेको छ । एमालेका लागि पार्टी अध्यक्ष केपी ओली ब्रेन ट्युमर हुन् । ब्रेन ट्युमरको रुपमा रहेको उनको विचार र कार्यशैली सच्चिने छैन । ओलीको पवृत्ति र उनको विचार शैलीबाट मुक्त पाउँदा एमाले अझैपनि ठूलो शक्ति हो । त्यो हामीले नै निर्माण गरेको शक्ति हो । तर, त्यसो हुनेवाला छैन । ओली एमाले मात्र होइन कमयुनिष्ट आन्दोलनलाई नै आफूसंग पतित गर्न चाहन्छन् । हामीलाई त्यो चिन्ता छ’ उनले भने ।
महासचिव भुषालले एमालेको नबौं महाधिवेशनमा माधव नेपालको पराजय नै कम्युनिष्ट आन्दोलनका लागि ठूलो झड्का भएको उल्लेख गरे । माधव नेपालको पराजय व्यक्तिको पराजय भन्दापनि कम्युनिष्ट कार्यशैली र विचारको पराजय भएको उनले अर्थ लगाए । त्यसैको विकसित रुप झण्डै दुई तिहाईको अवस्थामा रहेको अवस्थामा संसद विघटनसम्म पुगेको उनको भनाई छ । नेपालमा विकास समृद्धि ल्याउन र स्थायित्वका लागि संसद विघटन अगाडिको अवस्थामा कम्युनिष्ट आन्दोलनलाई फर्काउनुपर्ने उनको धारणा छ ।













