हेटौँडा ।
पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले देशको अर्थतन्त्र बर्बाद भयो, श्रीलङ्काको अवस्थामा पुग्यो भन्ने हल्ला मात्र भएको बताएका छन् । खतिवडाले अर्थतन्त्र कमजोर भए पनि सुधार गर्न सकिने अवस्थामा रहेको बताएका हुन् ।
संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमद्वारा बागमती प्रदेशसभा सदस्यहरूका लागि शनिबार हेटौँडामा आयोजित दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनमा प्रदेशसभा सदस्यहरूको भूमिकासम्बन्धी अभिमुखीकरण कार्यक्रममा पूर्वगभर्नरसमेत रहनुभएका डा. खतिवडाले अर्थतन्त्रलाई चलायमान बनाउन अर्थतन्त्रका बारेमा फैलिएको नकारात्मक कुराको अन्त्य हुनुपर्ने बताए ।
‘देशको अर्थतन्त्र बर्बाद भयो, नेपाल पनि श्रीलङ्काको अवस्थामा पुग्न लाग्योजस्ता व्यप्त हल्लाले आर्थिक क्षेत्रमा शङ्काको वातावरण सिर्जना भएको हो’, उनले भने । त्यस्ता हल्ला रोकिए लगानी भित्रिन सक्ने उनले बताए ।













