सरकारले खोल्यो जग्गाको कित्ताकाट

केन्द्रभाग मिडिया

पोखरा ।
सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको हो । यसअघि गत हप्ता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घरजग्गामा पैसा फसेको र भूउपयोग नियमावलीका कारण जग्गा कित्ताकाट रोकिएकाले खोल्ने तयारी भइरहेको बताएका थिए ।

जग्गालाई कृषि र गैरकृषि क्षेत्रमा वर्गीकरण नगरी कित्ताकाट गर्न नपाइने नियमले यो वर्ष घरजग्गा किनबेचमा मन्दी देखिएको थियो । घरजग्गा किनबेचमा मन्दी देखिँदा राजस्व कम उठेको र अर्थतन्त्रमै प्रभाव परेको ठहर गर्दै सरकारले वर्गीकरणविनै कित्ताकाट खोलेको हो । कृषियोग्य जमीन घडेरीमा परिणत हुने क्रम बढेपछि कृषि तथा गैरकृषि क्षेत्र छुट्याउने भन्दै सरकारले कित्ताकाटमा रोक लगाएको थियो ।

बैंकहरुले घरजग्गामा अहिलेसम्म ५ खर्ब ९० अर्ब लगानी गरेका छन् । गत वर्षको फागुनसम्म यस्तो लगानी १५ प्रतिशत बृद्धि भएकोमा यो वर्षको सोही अवधिमा २ दशमलव दुई प्रतिशत मात्रै बढेको छ ।

  • ५ बैशाख २०८०, मंगलवार १९:४४ प्रकाशित