मनाङ ।
अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहित आएको ढुङ्गा, गिट्टी र बालुवाले थुनिएको मर्स्याङ्दी नदी खोल्ने काम सुरु भएको छ।नदी थुनिएर बनेको ताललाई खुलाउन उपलब्ध एक्साभेटरसहितका उपकरण प्रयोग गरेर प्रयास भइरहेको छ।
नदीले धार परिवर्तन गरेर पानी आंशिक रूपमा बगिरहेको छ। ‘यहाँ उपलब्ध एक्साभेटरलगायतका सामग्री उपयोग गरी केही मात्रामा काम सुरु भएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले भने, ‘ठुला चट्टान फुटाउनुपर्ने देखिएकाले त्यसको पनि तयारी भइरहेको छ।’
नदीले पुलमाथिबाटै धार परिवर्तन गर्दा आसपासका केही घरहरू डुबानमा परेका छन्।स्थानीयस्तरमा उपलब्ध स्रोतसाधन प्रयोग गरी नदी खुलाउन सके विस्थापित स्थानीयलाई छिट्टै घर फर्काउन सकिने चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए।
‘विस्फोट गराएर चट्टान फुटाउँदा मर्स्याङ्दीको तटीय क्षेत्रमा बढ्न सक्ने जोखिमलाई ध्यान दिन आवश्यक छ,’ गाउँपालिका अध्यक्ष घलेले भने, ‘एक्साभेटरले अडिएका ढुङ्गा हटाउन सकिए तटीय क्षेत्रमा कम क्षति पुग्नेछ।’
लमजुङ हिमाल शिर रहेको घट्टेखोलामा आएको लेदो र ठुला ढुङ्गाले मर्स्याङ्दी नदी थुनिएको हो।वरपरका क्षेत्रमा क्षति नपुग्ने गरी बम विस्फोट गराएर नदीलाई पुरानै लयमा फर्काउन अध्ययन भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।
‘नदी खुलाउन सकिए स्थानीयको त्रास अन्त्य हुनेछ र सहज वातावरण बन्नेछ,’ पौडेलले भने।बाढी र पहिरोका कारण सो क्षेत्रमा विद्युत् आपूर्ति, खानेपानी, टेलिफोन सम्पर्क र इन्टरनेटको पहुँच टुटेको छ।त्यस्तै सडक सञ्जाल पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।
ङिस्याङ गाउँपालिका–४ हुम्देमा बाढी र पहिरोले पालिका वरपरका बस्तीका घरभित्र पानी र हिलो पसेको छ।सब्जे खोलाबाट निकालिएको लघुजलविद्युत् आयोजनाको विद्युत्गृहमा क्षति पुगेपछि विद्युत् आपूर्ति बन्द भएको छ।
यसअघि विसं २०७८ मा पनि घट्टेखोला, ठाडो खोला र मर्स्याङ्दीको बाढीले मनाङमा ठुलो भौतिक क्षति पुर्याएको थियो।सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेल र चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेको समन्वयमा नदी खुलाउने काम भइरहेको छ।














