विश्वको तेस्रो ठूलो वेश्यावृत्ति केन्द्रमा देहव्यापारलाई गैरकानुनी बनाउने प्रधानमन्त्रीको वाचा

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले वेश्यावृत्तिलाई गैरकानुनी बनाउने वाचा गरेका छन्।

सोशलिस्ट पार्टीको तीनदिने महाधिवेशनलाई सम्बोधन गर्दै आइतवार उनले वेश्यावृत्तिले महिलालाई दासी बनाउने गरेको बताएका छन्।

स्पेनमा सन् १९९५ मा वेश्यावृत्तिलाई कानुनी मान्यता दिइएको थियो। सन् २०१६ मा संयुक्त राष्ट्रसङ्घको आकलनअनुसार त्यहाँको यौन उद्योग चार अर्ब २० करोड अमेरिकी डलरजतिको थियो।

सन् २००९ को एउटा सर्वेक्षणले स्पेनमा तीनमध्ये एक पुरुषले पैसा तिरेर यौन सम्पर्क गरेको देखाएको थियो।

तर सोही वर्ष प्रकाशित अर्को प्रतिवेदनले ३९ प्रतिशतसम्म पुरुषले वेश्यागमन गर्ने गरेको हुनसक्ने सङ्केत गरेको थियो।

सन् २०११ को राष्ट्रसङ्घको अध्ययनले स्पेनलाई थाईल्यान्ड र पुर्टो रिकोपछि वेश्यावृत्तिको सबैभन्दा ठूलो केन्द्र भनिएको थियो।
स्पेनमा हाल देहव्यापारलाई नियमन गरिएको छैन। त्यहाँ पैसाका लागि सार्वजनिक स्थानमा बाहेक अन्य स्थानमा देहव्यापार गरे कानुनी कारबाही हुँदैन।

तर यौनकर्मी र ग्राहकका बीचमा गरिने दलाली भने त्यहाँ गैरकानुनी छ।

कानुनी बनाइएपछि स्पेनमा यौनकर्मीको सङ्ख्या बढ्न थालेको र अहिले त्यहाँ झन्डै तीन लाख यौनकर्मी महिला रहेको आकलन छ।

सन् २०१९ मा सान्चेजको पार्टीले महिला मतदातालाई आकर्षण गर्न चुनावी घोषणापत्रमा वेश्यावृत्तिलाई गैरकानुनी बनाउने लेखेको थियो।
सो घोषणापत्रमा देहव्यापारलाई गरिबीको नारीकरणको क्रूर पक्षमध्ये एक र महिलाविरुद्ध हिंसाको सबैभन्दा विकृत रूपमध्ये एकू भनिएको छ।

यद्यपि निर्वाचित भएको दुई वर्षसम्म उनको पार्टीले यस विषयमा कुनै विधेयक निर्माण गरेको छैन।

देहव्यापारलाई कानुनी मान्यता दिनुपर्ने भन्ने पक्षधरहरूले यसले महिला यौनकर्मीलाई यसले ठूलो सहयोग गरेको र सुरक्षित बनाएको बताउँछन्।

तर हालैका वर्षहरूमा महिलाहरूलाई यौनकर्मका लागि बाध्य पारिने विवरणहरू आएका छन्।

सन् २०१७ मा स्पेन प्रहरीले छापाका क्रममा भेटिएका १३,००० महिलामध्ये ८० प्रतिशत महिलालाई वेश्यावृत्तिका लागि तेस्रो पक्षले बाध्य पारेको बताएको थियो।समाचार साभारः बीबीसी

  • १ कार्तिक २०७८, सोमबार १२:०४ प्रकाशित