पोखरा ।
पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी २४ असोजमा हुने तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगितालाई सफल बनाउन स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्था, विद्यालय, युवा क्लब, टोल विकास संस्था, व्यवसायी तथा स्थानीय सरोकारवालाहरू एकजुट भएका छन् ।
पुम्दी–भुम्दीको पर्यटन, खेल पर्यटन तथा स्थानीय क्षेत्रको समग्र प्रवद्र्धनसँग जोडिएको प्रतियोगितालाई सफल बनाउन आवश्यक सहयोग, स्वयंसेवक परिचालन, धावक सहभागिता, स्वास्थ्य सेवा, खानेपानी तथा बाटोमा स्वागत–सत्कारलगायतका व्यवस्थापनमा स्थानीय तहबाट पूर्ण सहयोग गर्ने सरोकारवालाहरूले प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले प्रतियोगिता एउटा सामान्य खेलकुद कार्यक्रम मात्र नभई पुम्दी–भुम्दीको गाउँको इज्जत, प्रतिष्ठा र पहिचानसँग जोडिएको कार्यक्रम भएकाले यसलाई चुस्त, दुरुस्त र व्यवस्थित बनाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन् । प्रतियोगिताले पुम्दी–भुम्दीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन र यहाँको पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ छ ।
पोखरा महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष हिमलाल बरालले विगतका वर्षदेखि प्रतियोगितालाई वडा तहबाट गर्दै आएको सहयोगलाई यस वर्ष पनि निरन्तरता दिइने बताए । उनले प्रतियोगिता पुम्दी–भुम्दीको पहिचानलाई विश्वसामु पु¥याउने महत्वपूर्ण माध्यम बन्दै गएको उल्लेख गर्दै यसलाई निरन्तरता दिनुपर्ने धारणा राखे । वडाध्यक्ष बरालले पुम्दी–भुम्दी पदयात्रा तथा पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र रहेको बताउँदै यस वर्ष ‘राउन्ड फेवा, भ्यु फेवा’ फुटट्र्याक निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । त्यसैगरी पुम्दी–भुम्दीमा पैदलमार्ग तथा फुटट्र्याक निर्माणका लागि एसियाली विकास बैंक (एडीबी)को सहकार्यमा करिब ५२ करोड रुपैयाँ बराबरका पदमार्ग निर्माणको काम अघि बढेको र टेन्डर समेत भइसकेको उनले बतए ।
भौगोलिक दृष्टिले पुम्दी–भुम्दी निकै उपयुक्त क्षेत्रमा रहेको उल्लेख गर्दै बरालले यहाँ बाढी, पहिरो तथा बन्यजन्तुजन्य जोखिम तुलनात्मक रूपमा कम रहेको बताए । कृषि उत्पादनसँगै पर्यटन प्रवद्र्धनमा विशेष ध्यान दिन सके यस क्षेत्रको आर्थिक विकास गर्न सकिने उनको भनाइ थियो ।
‘यहाँ बाँदर आतंक राष्ट्रिय समस्याकै रूपमा रहेको छ, त्यो समस्या हामीकहाँ पनि छ । यसबाहेक अन्य ठूला जोखिम खासै छैनन्,’ उनले भने, ‘कृषि र पर्यटनबाटै विदेशी मुद्रा आर्जन गर्ने गरी यस क्षेत्रको आर्थिक कायापलट गर्न सकिन्छ । अब हामी त्यसतर्फ केन्द्रित हुनुपर्छ ।’
विश्व शान्ति स्तुप समितिका सचिव तथा पूर्वप्रधानपञ्च दुर्गबहादुर गुरुङले पुम्दी–भुम्दीको महत्व बुझ्न नसक्दा विगतमा गाउँबाट धेरै मानिस पलायन भएको स्मरण गरे ।
कालाबाङ घरेडी बुद्धपार्क समितिका अध्यक्ष राज गुरुङ ‘लाल’ ले गत वर्षका अनुभव र कमजोरीलाई समीक्षा गर्दै यस वर्ष व्यवस्थापनमा कुनै कमी हुन नदिन सुझाव दिए ।
होमस्टे महासङ्घका केन्द्रीय उपाध्यक्ष प्रकाश गुरुङले प्रतियोगिता सफल बनाउन आफूहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । पोखरा–२२ स्वास्थ्य चौकीका इन्चार्ज विदुर रेग्मीले प्रतियोगिताका क्रममा आवश्यक पर्ने स्वास्थ्यकर्मी व्यवस्थापनका लागि स्वास्थ्य चौकीबाट सहयोग गर्ने बताए । महेश्वरी माध्यमिक विद्यालयका शिक्षक महेश बरालले प्रतियोगितालाई आफूहरूले गाउँकै कार्यक्रमका रूपमा लिएको बताउँदै विद्यालयका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतियोगिताका संयोजक दीननाथ बरालको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा पुम्दिकोट कोट विकास समितिका कार्यालय सचिव रुद्र पौडेलले प्रतियोगिताको मार्गमा रहेको विशाल महादेवको मूर्तिस्थलमा चेकपोइन्ट रहने भएकाले त्यसका लागि आवश्यक सहयोग गर्न समिति तयार रहेको बताए ।
शुक्रराज माध्यमिक विद्यालयका प्राचार्य नरनाथ बरालले प्रतियोगितामा विद्यालयबाट धावकहरू सहभागी गराउने प्रतिबद्धता व्यक्त गर्दै प्रतियोगितामा सहभागी हुने धावकहरूलाई बाटोमा स्वागत तथा सत्कारका लागि समेत विद्यालय तयार रहेको बताए ।
वडा युवा परिषद् पोखरा–२२ का अध्यक्ष दिनेश बरालले प्रतियोगितामा स्वयंसेवक परिचालनलाई व्यवस्थित बनाइने बताए । प्रतियोगिताका रेस डाइरेक्टर ओम गुरुङले आठ किलोमिटर दूरीको पर्वतीय दौड प्रतियोगिता यस क्षेत्रकै आकर्षक र विशेष प्रकृतिको प्रतियोगिता रहेको दाबी गरे ।
कार्यक्रममा वडा सदस्यद्वय कृष्णकुमारी देवकोटा र सञ्जीव गुरुङ, भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक विजय सारू, पुम्दीकोट टोल विकास संस्थाका अध्यक्ष राजेन्द्र क्षेत्री, पोखरा टेलिभिजनका पुष्प दाहाल, मानव आवाजका मधु पन्थी, घरेडी टोल विकास संस्थाका दिल्लीराम पौडेल, कालाबाङ घरेडी युवा क्लबका जीवन पौडेल लगायत विभिन्न संघसंस्था तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको केन्द्रका सचिव सागर सुनारले जानकारी दिए ।
केन्द्रका उपाध्यक्ष असफल गौतमले पुम्दी–भुम्दीको इभेन्टलाई पोखराको समग्र पर्यटन र खेलसँग जोडेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहिचान स्थापित गर्ने उद्देश्यले आफूहरूले दुःख–सुख गर्दै प्रतियोगितालाई निरन्तरता दिँदै आएको बताए । उनले प्रतियोगिता खेलकुदमा सीमित नभई पुम्दी–भुम्दीको पर्यटन, स्थानीय अर्थतन्त्र र क्षेत्रीय पहिचानसँग जोडिएको अभियानका रूपमा अघि बढिरहेको धारणा राखे ।
प्रतियोगिताका संयोजक बरालका अनुसार प्रतियोगितामा खुलातर्फसहित छ वटा विधामा विभिन्न प्रतिस्पर्धा सञ्चालन हुँदै आएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीका लागि केही दिनभित्रै पोखरा क्लिक अनलाइन पोर्टलमार्फत आवेदन फाराम खुला गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्स हस्पिटालिटी पार्टनरका रूपमा रहेको छ । पुम्दी–भुम्दी क्षेत्रको खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।












