काठमाडौं ।
सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खोलिदिएको छ । कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै पेस भएको रिट निवेदन सर्वोच्च अदालतले दरपिठ गरिदिएसंगै कांग्रेस महाधिवेशनको बाटा खुलेको हो । कांग्रेसमा संस्थापन समूह र इतर समूहले छुट्टाछुट्टै महाधिवेशन मिति घोषणा गरेका छन् ।
उक्त दुवै महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन पेस भएको थियो । यसअघि उक्त निवेदन सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो ।
कांग्रेसको क्रियाशील सदस्य भएको दाबी गर्ने अधिवक्ता मणिराम उपाध्यायले रिट दिएका थिए । सर्वोच्च प्रशासनले एउटा निवेदन पूर्ण इजलासमा विचाराधीन रहेको र अर्को निवेदनमा महाधिवेशन कार्यतालिका रोक्न आदेश नदिएको हुँदा रिट दर्ता गर्न अस्वीकार गरेको थियो ।
उक्त दरपिठविरुद्ध पनि निवेदन परेको थियो । आज उक्त रिट निवेदन न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले सर्वोच्च प्रशासनकै आदेशलाई सदर गरिदिएको हो । कांग्रेस संस्थापनले १६ देखि १९ असोजसम्म १५ औं महाधिवेशनको मिति तोकेको छ । इतस पक्षले २१ देखि २३ मंसिरसम्म हुने गरी केन्द्रीय महाधिवेशनको समय निर्धारण गरेको छ ।












