पोखरा ।
यातायात व्यवस्था कार्यालयले यात्रु बोक्न र सवारी भाडामा चलाउनका लागि गाडीलाई कालो नम्बर प्लेट दिए पनि पोखरा लगायत देशका विभिन्न ठाउँमा लामो समयदेखि रातो नम्बर प्लेटका निजी सवारी साधनले धमाधम भाडामा यात्रु बोक्ने गरेका छन् । यसरी रातो नम्बर प्लेटका सवारी साधनले यात्रु बोक्दा आफूहरुकै व्यवसाय धरापमा पर्ने गरेको एक ट्याक्सी चालकले गुनासो गरे ।
रातो नम्बर प्लेट दिएर सवारी बोक्न नपाउने तथा भाडामा समेत चलाउन नपाउने भए यात्रु ढुकेरै लैजाने गरेको समेत पाइएको छ । पोखराको पुरानो एयरपोर्ट अगाडि यात्रुसंग बार्गेनिङ गरिरहेका एक व्यवसायीले सिटि भित्रै एउटा चोक बाट अर्को चोकमा भाडामा नलैजाने तर कतै जानका लागि आफूलाई सम्पर्क गर्न सकिने बताए । ‘यहाँबाट (पुरानो एयरपोर्ट) महेन्द्रपुल चिप्लेढुंगाका लागि त लैजान्नौं । तर सानो तिनो भएपनि प्याकेजमा भने गइहाल्छौं’ उनले भने ।
ति व्यवसायीले आफूले तीन वटा (दुई वटा स्कार्पियो र एउटा कार) यही प्रयोजनका लागि प्रयोग गरेको बताए । रातो नम्बर प्लेटका सवारीमा यात्रु बोक्दा कुनै झमेला हुँदैन भन्ने केन्द्र खबरको जिज्ञासामा ति व्यवसायी भन्छन्, ‘के को झमेला ? यहाँ सबैले यसै गरिरहेकै छन् । केही समस्या हुँदैन ।’
पोखरामा रातो नम्बर प्लेटका दुई पांग्रे र चारपांग्रे सवारी साधनले धमाधम यात्रु बोक्दा राज्यका निकाय भने मुकदर्शक हुने गरेको पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष प्रकाशमणि तिवारी बताउँछन् । निजी सवारी साधनले मिटर चालउनु नपर्ने, पटके काट्नु नपर्ने, त्यही अनुरुपको ट्याँक्स/भ्याट तिर्न नपर्ने र २० वर्षमा गाडि काट्न नपर्ने जस्ता कारणले पनि रातो प्लेटका सावरी साधन साधन तर्फ स्वयम व्यवसायीको आकर्षण बढेको पाइएको छ’ उनले भने ।
अध्यक्ष तिवारीका अनुसार अहिले पोखरामा रातो नम्बर प्लेट भएका ३ हजार भन्दा धेरै निजी सवारीले यात्रु बोक्ने गरेका छन् । कुनै बेला सार्वजनिक सवारी साधनलाई निजी सवारी सञ्चालकहरुले चोकमा बसेर लखेट्ने दिन आउने चिन्ता आफूहरुमा रहेको उनको टिप्पणी छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले भने रातो नम्बर प्लेट भएका सवारी साधनले यात्रु बोक्न नपाउने जनाउँदै ट्राफिकले कडाइका साथ चेकजाँच गरिरहेको बताएको छ । यसरी नियम विपरित यात्रु बोक्ने केही निजी सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरिएको समेत ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता शिवराज पाठकले जानकारी दिएको छ ।
सार्वजनिक प्रयोगका लागि दर्ता भएका कालो नम्बर प्लेट र निजी प्रयोगका लागि दर्ता भएका रातो नम्बर प्लेटरहेका सवारीले तिर्ने राजस्वमा समेत अन्तर छ । जसले गर्दा लाखौँ राजस्व दिनप्रतिदिन यातायात कार्यालयले गुमाइरहेको छ । कालो प्लेटका सवारीले तोकिएको रुट परमिट बेगर सडकमा सवारी सञ्चालन गर्न राजस्व तिर्नुपर्ने हुन्छ । तर रातोको हकमा भने नेपालभर सञ्चालन अनुमति हुने हुँदा कर तिर्नुपर्ने बाध्यता छैन ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९को दफा ८ को उपदफा २ मा निजी सवारी सार्वजनिक प्रयोजनका लागि प्रयोग गर्न पाइने छैन भन्ने उल्लेख छ भने दफा १२ मा कुनै एक प्रयोजनका लागि दर्ता भएको सवारी साधन अन्य प्रयोजनमा लगाउन पाइने छैन भन्ने प्रष्ट व्यवस्था छ । त्यसैगरी गण्डकी प्रदेश सरकारले ल्याएको यातायात व्यवस्था सम्बन्धि विधेयक २०७७ को परिक्षद २ को १७ नम्बर बुँदामा एक प्रयोजनका लागि दर्ता भएको सवारी साधन अर्को प्रयोजनमा प्रयोग गर्न नपाईने उल्लेख छ ।
यातायात व्यवस्था कार्यालय सवारी कास्कीले पोखरामा भन्दापनि बाहिरबाट आएको निजी सवारी साधनलाई नियन्त्रणमा लिन समस्या रहेको बताएको छ । यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख डिल्लीराज रिज्यालले गत आर्थिक वर्षमा मात्र कास्कीमा प्रयोजन विपरित यात्रु बोक्ने सवारीलाई कारबाही गर्दा झण्डै १२ लाख रुपैयाँ राजश्व संकलन भएको बताए । प्रयोजन विपरित सवारी प्रयोग गरेको पाहिए ५ हजार देखि १० हजार रुपैयाँ जरिवाना गराईने उनले जानकारी दिए ।













