पोखरा ।
पोखराको ट्राफिक व्यवस्थापनका लागि भन्दै महेन्द्रपुलमा जोडिएको ट्राफिक लाइट सञ्चालनमा आउन कठिनाइ देखिएको छ । ट्राफिक लाइट सञ्चालन गर्न कम्तिमा तीन लेनको बाटो चाहिने र महेन्द्रपुल दुई लेनको हुँदा ट्राफिक लाइट सञ्चालन गर्न कठिनाई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रकाश शाहले जानकारी दिए ।
बायाँ साइडको बाटो निरन्तर सञ्चालनमा रहिरहनुपर्ने भन्दै उनले दुई लेनको बाटोमा यस्तो सम्भव नरहेको बताए । ‘ट्राफिक लाइट सञ्चालनका लागि कम्तिमा पनि तीन लेनको बाटो हुनैपर्छ । बायाँ तर्फको बाटो निरन्तर सञ्चालन हुनैपर्ने भएकाले महेन्द्रपुृलमा पुल दुई लेनको हुँदा ट्राफिक लाइट सञ्चालन गर्न नसकिएको हो’ उनले भने ।
स्वभाविक रुपमा ट्राफिक लाइट सञ्चालनमा आउँदा ट्राफिक व्यवस्थापन गर्न निकै नै सहज हुने भएपनि महेन्द्रपुलमा जोडिएको ट्राफिक लाइट सञ्चालनका लागि विभिन्न ढंगले प्रयास गरिएपनि सफल नभएको उनको टिप्पणी छ ।
यता पोखरा महानगरका वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेलले केही ढिलो भएपनि महेन्द्रपुलमा ट्राफिक लाइट सञ्चालनमा ल्याइने दाबी गरे । पुल दुई लेनको भएपनि अहिले पुराना संरचना हटाएर खाली गरिएको जमिन पिच गर्ने अनि पुलसम्म १२ मिटरको दुरी बनाउँदा ट्राफिक लाइट प्रयोगमा ल्याउन सकिने उनको भनाई छ । अहिले महेन्द्रपुलमा खानेपानीको पाइप फुटेकोले पीच गर्न नसकिएको पनि उनले बताए । तत्काल मर्मतका लागि खानेपानी कार्यालयमा आग्रह गरिएकाले केहि दिनमा उक्त स्थानमा पिच गरेर १२ मिटरलाई तीन लेनको सडकमा परिणत गरिने उनले जानकारी दिए ।
ट्राफिक लाइट सञ्चालनका लागि कम्तिमा तीन लेनको सडक चहिने कुरा सत्य हो । तर हामीले पुल तर्फ १२ मिटर सडकलाई तीन लेनको बनाउँछौं । त्यसका लागि खाली गरिएको जमिन उपयोग हुन्छ । अहिले खाने पानीको पाइप फुटेकोले पनि केही समस्या आएको हो । त्यसलाई मर्मत गर्न आग्रह गरेका छौं । त्यो मर्मत हुनासाथ काम सुरु गरेर हामी ट्राफिक लाइट सञ्चालनमा ल्याउँर्छौ’ उनले भने ।
वरिष्ठ इन्जिनियर पौडेलका अनुसार महेन्द्रपुलमा १८ लाख रुपैयाँ खर्चेर विभिन्न संकेत दिने ट्राफिक लाइट राखिएको हो ।













