काठमाडौं ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरी तत्काल जेलबाट रिहाइ गर्न सरकारलाई दबाब दिएको छ ।
मंगलबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाँणसँग भेटगरी नेकपाका प्रवक्ता खडग्बहादुर विश्वकर्माले निर्वाचनको परिणामसँगै नयाँ सरकार गठनको चरणमा प्रवेश गरिरहेका बेला यही सरकारले आफूहरुको माग सम्बोधन गर्नुपर्ने माग गरेका हुन् ।
वर्तमान सरकारले कानुनी जटिलता पनि हल गरेर नेकपाका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गर्ने र जेलबाट रिहाइ गर्ने निर्णय मन्त्रिपरिषद्बाट गरिसकेकाले त्यसलाई छिटो कार्यान्वयन गर्न सरकारलाई दबाब दिइएको प्रवक्ता विश्वकर्माले बताए ।
केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारसँग तीन बुँदे सहमति गरी नेकपा शान्ति प्रक्रियामा आएको थियो । तर उक्त सहमति अझै कार्यान्वयनमा नआएको भन्दै नेकपाले असन्तुष्टि जनाउँदै आएको छ ।













