पोखरा ।
सत्ता गठबन्धनबाट कास्की ३ का उम्मेदवार दुर्गादत्त भण्डारीले युवालाई गाउँमै रोजगारीको दिने बाचा गरेका छन् । लस्तीखोलाको पानी घाचोकमा ल्याएर युवालाई गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने भण्डारीले बताएका हुन् ।
बिहीबार मत माग्दै घरदैलोमा पुगेका उनले भने, ‘पोखरा महानगरनजिकै रहेको अनेक सम्भावना भएको घाचोकले गाउँमै समृद्धि खोज्नुपर्छ । यसका बासिन्दाले जीविकाका लागि पोखरा र विदेशको मुख ताक्नु नपर्ने अवस्था सिर्जना गर्छौ।’
स्थानीय राधिका केसीले पुरन्चौर घाचोक सडक कालोपत्र गरिदिन माग गरिन् । उनी भन्छिन्, ‘न सजिलो सडक पहुँच, न राम्रो सिँचाई, पोखरा नजिकैको कर्णालीबासी भएका छौं ।’
उम्मेदवार भण्डारीले आगामी ५ वर्षभित्र आफ्नो क्षेत्रमा अत्यावश्यक सबैजसो पूर्वाधार बनिसक्ने वाचा गरेका छन् । माओवादी केन्द्रका नेता उनले भने, ‘सिंहदरबारको अधिकार गाउँसम्मै आएको छ, प्रदेश सरकार आएको छ । केही समय त लाग्ला तर विकासका लागि काठमाडौं नै धाउनुपर्ने, माथिकै मुख ताक्नुपर्ने अवस्था छैन । हामी त्यसो हुन्न दिन्नौं ।’
घोचकबासीले गुणस्तरीय खानेपानीको व्यवस्था गर्नसमेत माग गरेका छन् । वर्खायाममा लस्तीखोलाको लेदो आउने र पाइपसमेत खोला, खोल्साले बगाउँदा यहाँका बासिन्दाले हैरानी भोग्दै आएका छन् । नेपाली कांग्रेसका महासमिति सदस्य रामचन्द्र त्रिपाठीले गठबन्धनको नेतृत्वमा घाचोकमा दीगो विकासको जग बस्ने आस्वासन दिए ।
टोलीले खरीबोट, भलाबोट, काङमाङ, लम्सालथर, नेपालीटोल, परियार टोल लगायतका क्षेत्रमा घरदैलो गरेको छ । टोलीमा कांग्रेस माछापुच्छ«े सभापति वीरेन्द्र गुरुङ, माओवादी केन्द्रका केन्द्रीय सदस्य आशमान रोका, माओवादी केन्द्र माछापुच्छ्रे उपाध्यक्ष गोपाल पोखरेल, प्रदेश कमिटी सदस्य प्रवीणा अधिकारी लगायत पाँच दलीय गठबन्धनका नेता, कार्यकर्ता र स्थानीय सहभागी छन् ।













