पोखरा ।
नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं कास्कीमा गठबन्धनको तर्फबाट प्रतिनिधिसमा सदस्य उम्मेदवार श्रीनाथ बरालले जनताको निरासालाई आसा र भरोसामा परिणत गर्ने बताएका छन् । पोखरा १६ अर्मलाको डि गाउँमा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
देशमा राजनीतिक परिवर्तन भएको तर जनताको अवस्थामा परिवर्तन नआउँदा निरासा पनि छाएको उनले उल्लेख गरे । ‘राजनीतिक परिवर्तन भयो । हाम्रो अवस्था परिवर्तन भएन । यहीँ गरिखाने अवस्था नरहँदा विदेशीनुपर्ने बाध्यता युवापंक्तिमा छ । घरगाउँमा अहिले बुढा बुवा आमा मात्र रहने अवस्था छ । अब देशमै केही गर्ने अवस्था आउनुपर्ने र रोजगारी पाउनुपर्ने आमरुपमा दाजुभाई दिदिबहिनीको अपेक्षा हो । अब गठबन्धनले यसको अभिभारा बहन गर्छ । हामी उम्मेदवार भएपछि यहाँहरुको जीवस्तर माथि उकास्ने । देशमै रोजगारीका अवसर सृजना गर्न नीति निर्माण गर्ने देखि वातावरण बनाउने काम हामीले गर्छौं’ उनले भने ।
विगतमा पटक पटक अवसर पाएकाहरुले काम नगर्दा र प्राप्त उपलब्धिलाई समेत भत्काउने प्रयत्न गर्दा समस्या आएको उनले सुनाए । त्यही भएरै आफूहरु विद्रोह गरेर नयाँ पार्टी निर्माण गर्दै गठबन्धनको माध्यमबाट जतामा आफै आएको उनको भनाई छ । उनले विगतमा कम्युनिस्ट र कांग्रेस मिलेर नै व्यवस्था परिवर्तन सम्भव भएको स्मरण गर्दै अब फेरि एकपटक मिलेर विकास र समृद्धिलाई अगाडि बढाउने उनले बताए ।
अहिले पोखरा महानगर गठबन्धनको नेतृत्वमा रहेको र प्रदेश सरकार अनि केन्द्र सरकारपनि गठबन्धनले नै बनाउने हुँदा जनभावना अनुरुप विकास र समृद्धि तर्फ अगाडि बढ्न सहज हुने उनले औल्याए ।
पर्यटन, कृषि, स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रमा महत्वपूर्ण एजेण्डा आफूहरुसंग रहेको भन्दै उनले यसैको माध्यमबाट पोखराको विकास गरिने धारणा राखे ।उत्पीडित, दलितको समस्या समाधान गर्न, भुमीहिन सुकुम्बासीका समस्या समाधान गर्न नै आफूहरुले निर्वाचित हुन जरुरी रहेको उनको भनाई छ ।
नेपाली कांग्रेसका नेता एवं कास्की २ (२)मा प्रदेससभा सदस्य पदका उम्मेदवार विन्दुकुमार थापाले अहिलेको व्यवस्था बलियो बनाउन गठबन्धन गरिएको बताए । उनले साढे ३ वर्ष एमालेको सरकार बनेको बनेको बेला १६ नम्बर वडा ओझेलमा परेको भन्दै त्यसपछी कांग्रेसको नेतृत्वमा सरकार बनेपछी विकास सुरु भएको उनको भनाई छ । जनतामा देखिएको निरासालाई आसामा परिणत गर्नकै लागि आफूहरु गठबन्धन गरेर आएको उनले बताए ।
अहिले स्थानीय सरकार समेत गठबन्धनको भएकाले प्रदेश र केन्द्रमा समेत गठबन्धनको सरकार बनेमा विकास निर्माण र संवृदी ल्याउन सकिने उनले बताए । उम्मेदवार थापाले अर्मलाकोटसम्म पुग्ने सडक स्तरोन्नति गरेर बार्है मासे चल्ने बनाउने र अर्को नारायण स्थान–भलाम हुँदै अर्मला कोटसम्मको गौरवको सडक समपन्न हुने अवस्थामा पुगेको जानकारी दिए ।
भलामबाट आटिघर र मौजाबाट आउने र बाटुलेचौरबाट आउने रिङरोड सडक अगाडि बढेको उनले बताए । उक्त वडामा मात्र १ अर्व १८ करोड बजेट छुट्टीएको भन्दै उनले वडा नम्बर १६ समृद्ध वडा बनाउन आफू लागिपर्ने धारणा राखे ।
कार्यक्रममा नेपाली कांग्रेसबाट समानुपातिक तर्फ गण्डकी प्रदेशसभा सदस्य पदका उम्मेदवार लक्ष्मी पाण्डे, स्थानीय कांग्रेस नेता राधाकृष्ण गुरूङ लगायतले बोेलेका थिए । यस अगाडि उम्मेदवारहरुले २०४६ सालको आन्दोलनका कमाण्डर लौह पुरुष गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेर विहिबारको घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।
यता पोखरा १७ ड्यामसाइड क्षेत्रमा नेकपा माओवादी केन्द्रका नेता एवं कास्की २ (१) मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकास लामिछाने र नेपाली कांग्रेसको तर्फबाट समानुपातिक तर्पm प्रतिनिधिसभा सदस्य उम्मेदवार वृन्दादेवी रानासहित गठबन्धनका नेता कार्यकर्ता घरदैलोमा सहभागी छन् ।
घरदैलोको क्रममा उम्मेदवार लामिछानेले आफूले ड्यामसाइड क्षेत्रमा सौन्दर्यकरण गरेर पर्यटकको बहाव फर्काउने बताए । पहिले ड्यामसाइड नै पर्यटकको मुख्य केन्द्र रहेकोमा अहिले सर्दैै सिरान तर्फ पुगेको चर्चा गरेका उनले ड्यामसाड हुँदै पातालेछाँगोसम्म फटट्रयाक निर्माण गर्ने र गुप्तेश्वर गुफा लगायतको क्षेत्रमा पर्यटकीय पूर्वाधारले आकर्षण बढाउने धारणा राखे । फेवातालको स्वच्छता कायम गराउन सके पर्यटक ड्यामसाईड क्षेत्रमा बस्ने उनको भनाई छ ।













