पोखरा ।
आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा विभिन्न पार्टीबाट बागी उम्मेदवारी परेको छ । आइतबार उम्मेदवारी दर्ता गर्दा नेपाली बागी उम्मेदवारी परेको छ ।
एमालेबाट को – को उठे बागी
स्याङ्जा–२ मा एमाले सचिव पद्मा अर्यालविरुद्ध कपिलदेव न्यौपानेले बागी उम्मेदवारी दिएका छन् । एमालेका जगन्नाथ बास्तोलाले कास्की ३ मा बागी उम्मेदवारी दर्ता गराएका छन् । एमालेले प्रतिनिधिसभा कास्की ३ मा दामोदर वैरागीलाई उम्मेदवार बनाएको छ ।
कांग्रेसमा को–को उठे बागी
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँ १ मा दुई जनाले बागी उम्मेदवारी दिएका छन् ।नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले तनहुँ–१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनबाट यहाँ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
तनहुँ १ मा विश्व बास्तोलाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस तनहुँका पूर्व जिल्ला सचिव बास्तोलाले पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका छन् ।
यस्तै नेपाली कांग्रेस प्रदेश महाधिवेशन प्रतिनिधि खिम बहादुर जिसीले पनि कास्की १ मा बागी उम्मेदवारी दिएका छन् । उनले पार्टीले उम्मेदवार छनोटमा कमजोरी गरेको भन्दै बागी उम्मेदवारी दिएका हुन् । उनले कांग्रेसका उम्मेदवार किशोरदत्त बरालविरुद्ध उम्मेदवारी दिएका हुन् ।
माओवादी को–को उठे
सत्तारुढ माओवादी केन्द्रकी अनिता भुर्तेलले कास्की ३ को प्रतिनिधिसभा निर्वाचनमा बागी उम्मेदवारी दर्ता गराएकी छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले आइतबार दिउँसो उम्मेदवारी दर्ता गराएकी हुन् । कास्की ३ मा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका रामजीप्रसाद बराल उम्मेदवार छन् ।
सत्ता गठबन्धनभित्र ?
कास्की २ मा पनि कांग्रेस नेता तथा पूर्व पर्यटन राज्यमन्त्री महादेव गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका छन्।कास्की क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता श्रीनाथ बराल उम्मेदवार छन्।













