उत्साहजनक र शान्तिपूर्ण रुपमा उम्मेदवारी मनोनयन दर्ता : निर्वाचन आयोग

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ता उत्साहजनक र शान्तिपूर्ण रुपमा भएको जानकारी दिएको छ । आयोगले आइतबार विज्ञप्ति जारी गर्दै ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत आज उम्मेदवारहरूको मनोनयनपत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रुपमा भएको जनाएको हो ।

आयोगले मनोनयन दर्ताको समय आइतबार बिहान १० देखि अपरान्ह ५ बजेसम्म ताकेको थियो । उक्त समयभित्र सम्बन्धित निर्वाचन कार्यालयमा उपस्थित भएका कतिपय उम्मेदवारहरूको दर्ता कार्य अहिले पनि जारी रहेको आयोगले जनाएको छ । यस्तै आयोगका अनुसार दर्ता भएका उम्मेदवारहरूको सूची आजै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गर्ने छ ।

भोलि २४ गते विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने आयोगले जनाएको छ ।​

  • २३ आश्विन २०७९, आईतवार २१:२७ प्रकाशित