पोखरा ।
स्याङ्जाको क्षेत्र नम्बर १ मा राजु थापा र नारायण मरासिनीका बीच तेस्रो पटक रोचक भिडन्त हुनेभएको छ । दुबैजनाले पहिलो पटक दोस्रो संविधानसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । उक्त निर्वाचनमा कांग्रेसका राजु थापा निर्वाचित हुँदा एमालेका नारायण मरासिनी पराजित भए । २०७४ को प्रतिनिधिसभामा निर्वाचनमा भने नारायण मरासिनीले राजु थापालाई पराजित भए । अगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दुबैजनाले स्याङ्जा क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गर्दैछन् ।
निजी शैक्षिक संस्था सञ्चालन गर्दै राजनीतिमा आएका नारायण मरासिनी निर्वाचित भएपनि प्रतिनिधिसभामा आफ्नो भूमिका सशक्तढंगले निभाउन नसकेको आरोप लागेको छ । पार्टीमा जिल्ला अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका उनी पराजित भएका थिए । मरासिनीले जिल्लाको विकास निर्माणमा पनि भूमिका नखेलेको उनकै पार्टीमा उनका आलोचकले बताएका छन् ।
यता व्यवसायिक पृष्ठभूमिबाट आएका राजु थापाले पनि तत्कालिन संविधानसभामा सशक्त भूमिका खेल्न नसकेको कांग्रेसकै एकथरी नेता कार्यकर्ताको अरोप छ । संविधानसभामा निर्वाचन लड्दा निर्वाचन क्षेत्रमा सस्ता आस्वासन बाँडेका र ति आस्वासन पुरा नभएको भन्दै उनको पनि जिल्लामा आलोचना हुने गरेको छ । थापा नेपाली कांग्रेस स्याङ्जाका जिल्ला सभापति हुन् ।













