एमाले उपमहासचिव गुरुङ र स्थायी कमिटी सदस्य अधिकारी प्रदेशसभामा उम्मेद्वार !

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेले यस अगाडि संघीय मन्त्री र गण्डकी प्रदेशमा मुख्यमन्त्री बनिसकेका पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र यस अगाडि केन्द्रमा स्वास्थ्य मन्त्री र गृहमन्त्री समेत बनिसकेका स्थायी कमिटी सदस्य खगराज अधिकारीलाई प्रदेशसभा सदस्यका लागि उम्मेद्वार बनाउने निर्णय गरेको छ । यससंगै एमाले उपमहासचिव गुरुङ लमजुङबाट र स्थायी कमिटी सदस्य अधिकारी कास्कीबाट प्रतिस्पर्धा गर्दैछन् ।

आगामी ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङको प्रदेश निर्वाचन क्षेत्र ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएर संसदीय दलको नेता बन्न पृथ्वी सुब्बा गुरुङ अगाडि बढेका हुन्। यता कास्कीको क्षेत्र नम्बर १ प्रदेश क बाट प्रदेशसभा सदस्यको उम्मेद्वार बनेर स्थायी समिति सदस्य खगराज अधिकारी पनि निर्वाचन जित्दै प्रदेश संसदीय दलको नेता बन्ने दाउमा छन् ।

गण्डकी प्रदेशमा अझ खासगरी कास्कीमा एमाले पूर्णतया पृथ्वी सुब्बा गुरुङ र खगराज अधिकारीको पक्षमा विभाजित छ । एमालेको जिल्ला अधिवेशन र हालैसम्पन्न स्थानीय तहको निर्वाचनमा समेत दुई पक्षीय नेता कार्यकर्ता एक अर्काका पक्षका कार्यकर्ताको विरुद्धमै लागेका थिए ।

पोखरा महानगरमा मेयरका उम्मेद्वार बनेका कृष्ण थापा गुरुङ पक्षधर नेता कार्यकर्ताको असहयोगकै कारण पराजय भएको अधिकारी पक्षको आरोप छ । यो विवाद अहिले केन्द्रसम्म नै पुगेको छ । यहि बीचमा गुरुङ र अधिकारी प्रदेशसभा सदस्य उम्मेद्वार बन्नुले निर्वाचित भएमा दुबैजनाले संसदीय दलको नेतामा दाबी गर्नेछन् ।

पार्टीलेले बहुमत ल्याएमा या अन्यढंगले एमालेको बहुमत संख्या पुगेमा एमाले संसदीय दलको नेता प्रदेशको मुख्यमन्त्री बन्ने छन् । प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र अलग भएपनि एमालेका नेता कार्यकर्ता मात्र होइन गण्डकी प्रदेशको राजनीतिक बृत्तमा अब पृथ्वी सुब्बा गुरुङ र खगराज अधिकारी आफै आम्नेसाम्ने प्रतिस्पर्धा गर्ने चरणमा अगाडि बढेको विश्लेषण भएको छ । एमाले नेता किरण गुरुङ भने यसपाली तनहुँबाट प्रतिनिधिसभा सदस्यकै लागि उम्मेदवार बनेका छन् ।

  • २२ आश्विन २०७९, शनिबार ०९:१९ प्रकाशित