एमालेमा जित्ने र टिक्ने निस्चित भएकालाई मात्र टिकट : नेता अधिकारी

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीले एमालेमा चुनाव जित्ने र टिक्ने नेताले मात्र टिकट पाउने बताएका छन् । पोखराको गोल्डेन आइ टेलिभिजनमा पत्रकार गोविन्द सुवेदीसंगको अन्तरवार्तामा उनले यस्तो बताएका हुन् ।

अहिलेको सत्ता गठबन्धन र विभिन्न तत्वले एमाले विभाजनको डिजाइन गर्ने हुनाले त्यस्तो डिजाइनमा नफस्ने र जित्ने पात्रलाई अध्यक्ष ओलीले रोज्ने उनको भनाई छ । ‘टिकट पाउन दुई सर्त छन् । एउटा जित्ने हुनुपर्छ, अर्को टिक्ने हुनुपर्छ । मलाई पनि टिक्दैन जस्तो लाग्यो भने अध्यक्षले टिकट नदिन सक्नुहुन्छ । अरुको हकमा पनि त्यहि हो ।’  उनले भने, ‘अहिलेको पाँच दलीय गठबन्धन र विभिन्न तत्वहरु निर्वाचन पछि पनि एमालेलाई छिन्नभिन्न पार्ने सड्यन्त्रमा लाग्छन् । त्यसबेला पनि दरिलो अडानका साथ अडिने पात्र चाहिन्छ । त्यसमाथि जित्ने त हुनै पर्छ  ।’

हिजो माधव नेपाललाई साथ दिएका तर १० बुँदे सहमति मार्फत एमालेमै रहेका नेताहरु प्रति अध्यक्षको संका हो भन्ने जिज्ञासामा उनले १० भाई प्रति संका नरहेको जिकिर गरे । एमालेको विधान अधिवेशन, महाधिवेशनसहित विभिन्न बैठकमा भएका बहस र अभ्यासले १० भाई प्रति संका गर्नुपर्ने ठाउँ नरहेको बताएका उनले केही नयाँमा पनि समस्या आउन सक्ने टिप्पणी गरे ।

नेता अधिकारीले आफू प्रदेशमा निर्वाचन लड्न इच्छुक नरहेको बताउँदै संघमा नै आफ्नो जोड रहने तर निर्णय पार्टीले गर्ने सुनाए । ‘म केन्द्रीय राजनीतिमै छु । जापान गएका बेला साथीहरुले दुई तर्फ सिफारिस गर्नुभएछ । मेरो रोजाई प्रतिनिधिसभा नै छ । तर, एक इमान्दार सिपाई भएकाले पार्टीले जे भन्छ त्यो मान्नु पर्छ । टिकट नदिन पनि सक्छ’  उनले भने ।

 

  • १७ आश्विन २०७९, सोमबार ०७:५० प्रकाशित