नेपाल–खनाल १७ सिटका लागि भिख माग्ने ठाउँमा पुगे : महासचिव पोखरेल

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई शक्तिशाली पार्टी र मुलुकको नेतृत्व गर्न छाडेर कांग्रेससंग १७ सिटका लागि भिख मागिरहेको टिप्पणी गरेका छन् । उनले ‘१७ सिटको भिख माग्ने ठाउँमा आइपुग्दा लाज लाग्दैन ?’ भनेर सोधेका छन् ।

नेकपा एमाले जिल्ला कमिटी कास्कीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्र्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई मत मागेर र उनीसंग १७ सिट भिख माग्ने ठाउँमा बसेर समाजवाद आउँदैन भन्दै व्यंग्य गरे ।

उनले ‘माधव नेपाल र झलनाथ खनाल मुलुकको सबैभन्दा ठूलो दल एमालेको र मुलुकको नै नेतृत्व गर्ने ठाउँ छाडेर कांग्रेससंग १७ सिट भिख मागिरहनु भएको छ । उहाँहरुलाई म सोध्न चाहन्छु कांग्रेस त्यसमाथि शेरबहादुर देउवालाई मत मागेर, १७ सिटको भिख मागेर समाजवाद आउँछ ?’ उनले प्रश्न गरे ।

महासचिव पोखरेल २००७ साल देखि नै कांग्रेस अस्थिरताको बाहक रहेको आरोप लगाएका छन् । कांग्रेसलाई एमालेले आफ्नो हाराहारीको मित्रशक्तिको रुपमा लिएपनि उसले यो कुरालाई बुझ्न नसकेको उनको जिकिर छ । ‘कांग्रेस जहिल्यै अस्थिरताको बाहक बन्यो । २००७ सालमा उसले राणासंग सम्झौता ग¥यो । जसका कारण २०१५मा वीपी कोइरालाले दुईतिहाई ततेर्न नसक्ने अवस्था आयो । २०४७ पनि परिवर्तन पछि कांग्रेसले सम्झौता ग¥यो ।

त्यसपछि पनि उसले पटक पटक सम्झौता गर्दै आएको छ । अहिले उसले आफ्नो सामथ्र्यता नै गुमाएको छ । हामीले हाम्रो हाराहारीको शक्तिको रुपमा उसलाई लियौं । उसले यो कुरालाई बुझेन’ उनले भने ।

शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी र अन्य नेताहरुले पनि आफ्ना धारणा राखेका थिए । कार्यक्रममा एमाले नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो ।

 

 

  • १५ आश्विन २०७९, शनिबार १२:२१ प्रकाशित