पोखरा ।
पोखरा महानगरपालिका उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा आज भेडा च्यांग्राको अनुगमन गरिएको छ ।पोखराको याम्दिमा बेच्नका लागि मुस्ताङ, बाजुरा, बझाङ, दार्चुला, डोल्पाबाट ल्याइएका भेडा र च्यांग्रा खानका लागि स्वस्थ र योग्य भए नभएको जाँच गरिएको पोखरा महानगरका उपभोक्ता हित संरक्षण समितिका सदस्यसचिव भरतराज पौडेलले जानकारी दिए।
अनुगमनमा अस्वस्थ देखिएका भेडा, च्यांग्रा बिक्री नगर्न ब्यवसायिलाई जानकारी गराइएको महानगर पशु शाखा प्रमुख नवराज अधिकारले बताए । उनले १५ वटा भेडा, च्यांग्राको स्याम्पल लिइएको र त्यसबाट स्वस्थ पाइएको र खान योग्य रहेको पाइएको बताए ।उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाले भेडा च्यांग्राको मूल्य निर्धारण गर्नसके उपभोक्ता महंगो नपर्ने सुझाव दिए।
उनले उपभोक्ताले खरिद गर्दा स्वस्थ छ कि छैन भन्ने ख्याल गरेर किन्नुपर्ने सुझाव दिए । उनले मूल्य निर्धारण बैज्ञानिक नभएको बताउदै आगामी वर्षदेखि बैज्ञानिक मुल्य निर्धारणमा ध्यान दिन अनुरोध गरे। पोखरा महानगरको उपभोक्ता हित संरक्षण समितिका संयोजक एंव पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा एक साता अघिदेखि अनुगमन सुरु गरिएको थियो ।
पोखराका मासु पसल र खाद्य पसलहरुमा अनुगमन सुरु गरिएको थियोे । अनुगमनका मुल्यसुचि नराखेको, ब्यवसाय दर्ता नगरेको, दर्ता भएका पसलको नविकरण नभएको र ढकतराजु दर्ता नभएका तथा सरसफाइमा ध्यान नदिएको पाइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकार गुरुदत्त ढकालले बताए । एक सातामा २० ब्यवसायिलाई ५ हजारदेखि १० हजारसम्म जरिवाना गरिएको उनले बताए ।
पोखरा महानगरलाई अनुगमन गर्ने अधिकार भएपनि जरिवाना गर्न पाउने व्यवस्था नभएकाले जिल्ला प्रशासन कार्यालय मार्फत जरिवाना गरिएको हो । अनुगमनमा पोखरा महानगर, जिल्ला प्रशासन कार्यालय, खाद्य गुणस्तर तथा नापतौल, उपभोक्ता मञ्च, पत्रकार लगायतको सहभागीता थियो ।