पोखरा ।
बजारमा खाने तेलको मूल्य घटेको छ । लामो समयदेखि बढ्दै गएको तेलको मूल्य घट्न थालेको हो । सरकारले खाने तेल आयातमा भन्सार शुल्क घटाए पछि खाने तेलको मूल्यमा ठूलो गिरावट आएको छ । एक महिनाको तुलनामा तेलको मूल्य लिटरमै ५० रुपैयाँसम्मले घटेको छ ।
सूर्यमुखी, भटमास र तोरीको तेलको मूल्यमा गिरावट आएको हो । एक महिना अघि प्रतिलिटर २९५ रुपैयाँ रहेको सूर्यमुखी तेलको मूल्य थोकमा २४५ रुपैयाँमा झरेको छ । २८० रुपैयाँ रहेको तोरीको तेलको मूल्य २५० रुपैयाँमा झरेको छ । यस्तै २९३ रुपैयाँ पर्ने भटमासको तेलको मूल्य न्यूनतम् २१८ रुपैयाँसम्म झरेको छ ।
तर, नेपाल खुद्रा व्यापार संघले भने खानेतेलको मूल्य पुरानै सार्वजनिक गरेको छ । संघले शुक्रबार पठाएको विवरणअनुसार तोरीको तेलको मूल्य प्रतिलिटर मूल्य ३७०, भटमासको तेलको मूल्य २५५ रुपैयाँ र सूर्यमुखी तेलको मूल्य २९५ रुपैयाँ रहेको उल्लेख छ ।
सरकारले २३ भदौमा राजपत्र जारी गर्दै पाम, सूर्यमुखी र भटमासको कच्चा तेल आयात गर्दा भन्सार महसुलमा ९० प्रतिशत छुट दिइएको थियो । सूर्यमुखी, भटमास, तोरी, रायो, सर्स्युं लगायतका वस्तुको गेडा नै आयात गर्दा यस अघि ५० प्रतिशत रहेको भन्सार छुटलाई पनि बढाएर सरकारले ९० प्रतिशत पुर्याइदिएको थियो ।
यस्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि यहाँ मूल्य घटेको बताइएको छ ।