पोखरा ।
जापानी सहयोग नियोग (जाइका) जाइकाद्वारा सञ्चालित पोखराको खानेपानी आयोजनाको काम हालसम्म ८८ प्रतिशत सम्पन्न भएको जाइकाले जानकारी दिएको छ । जाइकाका प्रमुख ओकुबो अकिमित्सुले पोखराका प्रमुख धनराज आचार्यसंगको भेटमा यस्तो जानकारी दिएका हुन् । प्रमुख आचार्यको कार्यकक्षमा भएको भेटमा जाइकाद्वारा सञ्चालित खानेपानी आयोजनाको हालसम्मको प्रगति र समस्याहरूको बारेमा छलफल भएको थियो ।
छलफलका क्रममा जाइकाका प्रतिनिधिले सडक विभाग अन्तरगतका सहरी सडकमा लाइन विस्तार र र्पस्याङ–सिद्धार्थचोक खण्डमा केही प्राविधिक समस्या रहेको जानकारी दिए । सो समस्या समाधानका लागि सम्बन्धित सरोकारवाालहरुसंग आवश्यक समन्वय गरिदिन ओकोबु नेतृत्वको टोलीले महानगरका प्रमुख आचार्यलाई आग्रह गरेको छ ।
जवाफमा प्रमुख आचार्यले ती समस्या समाधानका लागि सडक विभाग, खानेपानी संस्थान लगायतका सरोकारवालाहरुसंग यथाशीघ्र समन्वय गरी छलफलको वातावरण तयार गर्ने बताए । खानेपानीको लाइन विस्तारका क्रममा देखिएका बाधा अड्चनहरूको तत्काल समाधान गरी पोखरेलीहरूलाई शुद्ध खानेपानी वितरण गर्ने कार्यमा महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताए ।
‘पोखरेलीहरूलाई शुद्ध खानेपानी खुवाउने महानगरको योजनामा जाईकाको योगदान अतुलनीय छ । यस कार्यमा कुनै प्रकारको अवरोध सृजना भए तत्काल समाधानका लागि महानगरपालिकाको तर्फबाट आवश्यक सहजीकरण हुन्छ’ प्रमुख आचार्यले भने ।
भेटघाटमा जाईकाका प्रमुख ओकुबो अकिमित्सु सहित कातो कुमिको, सुगियामा शिगेरु र इन्जिनियर हरि तिमिल्सिनाको संलग्नता थियो भने, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रशासकीय प्रमुख वीरेन्द्रदेव भारती र इन्जिनियर राजु रेग्मीको सहभागिता थियो ।