काठमाडौं ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँट नभए गठबन्धनको कुनै औचित्य नरहने बताएका छन्।
मधेस प्रदेश सरकारले स्थापना गरेको मधेस विश्वविद्यालयको वीरगञ्जमा कार्यालय उद्घाटन गर्दै सबैको भावनालाई सम्मान गर्दै न्यायोचित सिट बाँडफाँट नभए दलहरुबीच गठबन्धनको कुनै औचित्य नरहने बताएका हुन्।
उनले आफूहरूले प्रतिनिधिसभाका लागि ३२ सिट कांग्रेस नेतृत्वसँग माग गरेको र सोही विषयमा दलका शीर्ष नेताहरूबीच छलफल चलिरहेको समेत जानकारी दिए।
सिट बाँडफाँटको विषयमा सहमति नभएका विषयलाई चाँडै नै शीर्ष नेतृत्वले किनारा लगाएर आसन्न निर्वाचनको तयारीमा जुट्ने बताए।
सिट बाँडफाँटको विषय चाँडै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गरे।
अपमानजनक सिट बाँडफाँटमा आफ्नो पार्टी सहभागी नहुने उनको भनाइ थियो। आफ्नो पार्टीको दाबी प्रत्यक्ष संघीय सिटमा ३२ रहेको र त्यसभन्दा घटेर गठबन्धनमा बाँडफाँट गर्न नसकिने पनि उनले प्रष्ट पारे।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ सिट छन्। तर, दलहरूले गरेको दाबीअनुसार सबैलाई भाग पुर्याउन सक्ने अवस्था छैन। नेपाली कांग्रेसले १००, माओवादी केन्द्रले ६०, नेकपा एकीकत समाजवादीले ४० र राष्ट्रिय जनमोर्चाले ३ सिट दाबी गर्दै आएका छन्।