टिपर आगजनी : बीमाको लोभले चालक आफैले जलाएको खुलासा

केन्द्रभाग मिडिया

दाङ ।

बन्दकर्ताले एकाबिहानै टिपरमा गरिएको भनिएको आगजनी चालक आफैले गरेको खुलेको छ ।

दाङमा आज बिहान एक टिपरमा आगजनी भएको थियो । सो आगजनी बन्दकर्ताले गरिएको आशंका गरिएको थियो ।तर प्रहरी अनुसन्धानमा चालक आफैले जलाएको खुलेको हो ।

बीमाको लोभमा परी चालक आफैंले टिपर जलाएको प्रहरीले जनाएको छ ।आफैले चलाउने टिपरमा आगजनी गर्ने चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चालक अरुण चौधरी र सहचालक आकाश चौधरी रहेका छन् । मंगलबार बिहान बन्दको मौका छोपी आफैंले चलाउँदै आएको टिपरमा आगजनी गरेको पुष्टी भएपछि प्रहरीले चालक र सहचालकलाइ पक्राउ गरेको हो ।

प्रहरीको अनुसार घोराही–लमही सडकखण्डको बबई खोलाको पुलमा म‌गलबार बिहान रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी भएको थियो ।

एका बिहानै टिपरमा आगो लागेको देखेपछि स्थानीयबासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।घटनाबारे सोधपुछ गर्दा सुरुमा चालक चौधरीले चार पाँच जनाको अज्ञात समूहले टिपरमा आगो लगाएर भागेको बताएका थिए । तर सोही समयमा अन्य सवारी सधान निर्वाध रुपमा चलेको बेला टिपरमा मात्र कसरी आगजनी भयो भनेर प्रहरीले घटना शंकास्पद देखेपछि दुवै जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।

अनुसन्धानकै क्रममा बीमाको लोभमा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा चालक आफैंले आगजानी गरेको पुष्टि भएको हो ।

  • ७ भाद्र २०७९, मंगलवार १३:४६ प्रकाशित