काठमाडौं ।
२०८३ को वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशका विभिन्न स्थानमा घटेका विपद्का घटनामा परि १ सय ९६ जनाको ज्यान गएको छ । ४ जना अझै बेपत्ता रहेका छन् ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको बुलेटिनअनुसार यस अवधिमा कूल ४ हजार ५३ वटा विपद्का घटनाहरू दर्ता भएका छन् ।
वैशाख यता ५ हजार १ सय ८८ परिवार प्रभावित भएका छन् । वैशाख १ देखि साउन १७ गतेसम्म ४ हजार ५३ वटा विपद्का घटनामा १ सय ९६ जनाको ज्यान गएको , ४ जना बेपत्ता र १ हजार २ सय १८ जना घाइते भएका छन् ।
सर्पदंश विपद्को मुख्य घातक कारण बनेको छ, जसबाट ५४ जनाको ज्यान गएको छ भने ६ सय ६८ जना घाइते भएका छन् । ७ सय १६ सर्पदंशका घटनामा ७ सय १८ परिवार प्रभावित बनेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार चालु सिजनमा सर्पदंशबाट सबैभन्दा बढी मानिसको ज्यान गएको छ । सर्पदंशका कुल ७ सय १६ वटा घटनामा ५४ जनाको ज्यान गएको छ भने ६ सय ६८ जना घाइते भएका छन् । यसबाट ७ सय १८ परिवार प्रभावित बनेका छन् ।
चट्याङका २ सय ३१ वटा घटनामा २५ जनाको ज्यान गएको र १ सय ३२ जना घाइते भएका छन् । त्यस्तै, २ सय ७७ परिवार प्रभावित भएको छ । लेक लाग्ने ५७ वटा घटनामा २२ जनाको ज्यान गएको र ३६ जना घाइते भएका छन् । ५६ परिवार प्रभावित भएको छ ।
त्यस्तै यस अवधिमा पहिरोका ६ सय ८५ वटा पहिरोका घटनामा २० जनाको ज्यान गएको छ भने १ जना बेपत्ता र ३० जना घाइते भएका छन् । ५ सय ८६ परिवार प्रभावित भएका छन् । आगलागीका कुल १ हजार २४ वटा घटनामा परि २० जनाको ज्यान गएको र १ सय ३९ जना घाइते भएका छन् । १ हजार १ सय ३३ परिवार प्रभावित भएका छन् ।
जनावर आक्रमणका २ सय २५ वटा घटनामा १८ जनाको ज्यान गएको र १ हजार २ सय २० जना घाइते भएका छन् । ३ सय ४२ परिवार प्रभावित छन् । २ सय बाढीका घटनामा १४ जनाको मृत्यु, ३ जना बेपत्ता र १० जना घाइते भएका छन् । त्यस्तै, बाढीबाट ४ सय ५० परिवार प्रभावित भएका छन् । ४ सय ८० हावाहुरीका घटनामा १३ जनाको ज्यान गएको छ भने ६८ जना घाइते भएका छन् । १ हजार ३ सय ५८ परिवार प्रभावित भएका छन् ।
यसबाहेक भारी वर्षाबाट ४ जना, ढुङ्गा पल्टिएर २ जना, वन डढेलोबाट १ जना, हिउँ पहिरोबाट १ जना, विस्फोटनबाट १ जना र अन्य घटनाबाट १ जनाको ज्यान गएको छ । असिना र भूकम्पका कारण मानवीय क्षति नभए पनि क्रमशः १ र ३ परिवार प्रभावित भएका छन् ।
पछिल्लो २४ घण्टाको घटना विवरण
प्राधिकरणका अनुसार साउन १७ गते बिहान १० बजेसम्मको २४ घण्टामा देशका २५ स्थानमा (जिल्लागत घटना जोड्दा) कुल ३४ वटा विपद्का घटनाहरू भएका छन् । सर्पदंश ८ जिल्लामा १४ वटा सर्पदंशका घटना छन् । यसबाट १ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् ।
सुरक्षाका लागि ५० जना प्रहरी परिचालन गरिएको थियो । १० जिल्लामा ११ वटा आगलागीका घटनामा ५ जना घाइते भएका छन् । उद्धार र नियन्त्रणका लागि १८४ जना प्रहरी टोली खटिएका थिए । ४ जिल्लामा ६ वटा पहिरोका घटनामा १ जना घाइते भएका छन् ।













