रुपन्देहीका ११ दलद्वारा सद्‌भाव कायम राख्न अपिल

केन्द्रभाग मिडिया

बुटवल ।

रुपन्देहीमा क्रियाशील ११ राजनीतिक दलले समाजमा धार्मिक र सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपिल गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को समन्वयमा बसेको ११ दलको संयुक्त बैठकले सुनसरी र सिराहा लगायत देशका पूर्वी जिल्लाहरूमा भएका घटना र समसामयिक राष्ट्रिय तथा जनसरोकारका विषयमा गम्भीर छलफल गरी संयुक्त प्रेस विज्ञप्तिमार्फत सरकारसँग विभिन्न आठ विषयमा ध्यानाकर्षण सहित माग गर्ने निर्णय आफ्नो निर्णय गरेको छ ।

दलहरूले सुनसरीको देवानगन्ज र सिराहाको गोलबजार लगायत विभिन्न स्थानमा भएका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै घाइतेहरूको शीघ्र, निस्शुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक भएको र विविधता नै आफ्नो पहिचान भएको उल्लेख गर्दै दलहरूले कुनै पनि बहानामा धार्मिक, जातीय वा साम्प्रदायिक द्वेष फैलाउने, सामाजिक सद्भाव बिथोल्ने तथा हिंसा भड्काउने गतिविधि राष्ट्रिय हितविपरीत रहेको बताएका छन् । यस्ता गतिविधिबाट सबैलाई सचेत रहन हार्दिक अपिल गरेका छन् ।

दलहरूले घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन गरी दोषी जोसुकै भए पनि कानुनबमोजिम कारबाही गर्न, पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम लिन सरकारसँग माग गरेका छन् ।

देशभर धार्मिक, सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन र अफवाह तथा उत्तेजनात्मक गतिविधिबाट टाढा रहन आग्रह गर्दै ११ दलले सरकार तथा सरोकारवाला निकाय नै बढी जिम्मेवार हुनुपर्ने स्पष्ट पारेका छन् ।

दलहरूले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकको उचित व्यवस्थापन गरी तत्काल जग्गाधनी पूर्जा (लालपुर्जा) वितरण गर्न र उचित व्यवस्थापन नगरी गरिने कुनै पनि विस्थापन वा डोजर प्रयोग तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।

साथै अव्यवस्थित बसोबासीहरूलाई भूमि ऐनले निर्धारण गरेको अधिकतम क्षेत्रफलभित्र रहने गरी आवास र कृषि प्रयोजनका लागि मालपोतमा लाग्ने रजिस्ट्रेशन शुल्कबाट प्राप्त हुने राजस्वमा न्यून शुल्क लिई जग्गाधनी पुर्जा उपलब्ध गराउन पनि माग गरिएको छ।

  • १७ श्रावण २०८३, आईतवार १५:१९ प्रकाशित