नेपाल र बेलायतबीच सम्झौता : अब नेपाली नर्स रोजगारीका लागी जान पाउने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल सरकार र बेलायत सरकारबीच श्रम सम्झौता भएको छ । स्वास्थ्यकर्मीलाई बेलायतमा रोजगारी दिने विषयमा दुई देशबीच द्विपक्षीय श्रम सम्झौता भएको हो ।

सोमबार राजधानीमा एक कार्यक्रमकाबीच सम्झौता पत्रमा नेपालका तर्फबाट श्रम सचिव एकनारायण अर्याल र बेलायत सरकारका तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गरेका छन् । दुई देशबीच सम्झौता पत्रमा हस्ताक्षर भएसँगै अब नेपाली नर्स रोजगारीका लागि बेलायत जान पाउने भएका छन् ।

बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मी (नर्स)लाई रोजगारी प्रदान गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरको पनि उपस्थिति थियो ।

समझदारीबाट नेपाली स्वास्थ्यकर्मीहरुलाई विधिसम्मत तवरले बेलायतको स्वास्थ्य क्षेत्रको रोजगारीमा सहज संलग्न हुने वातावरण तयार हुने एवम् नेपाली स्वास्थ्य क्षेत्रमा संलग्न जनशक्तिको विकासमा समेत मद्दत पुग्ने विश्वास लिइएको छ ।

  • ६ भाद्र २०७९, सोमबार १६:२३ प्रकाशित