बेनी–जोमसोम सडक खण्ड अवरुद्ध

केन्द्रभाग मिडिया

म्याग्दी ।

पहिरोको कारण बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने दानाको विभिन्न ठाउँमा गएराति खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको यो सडकको म्याग्दी खण्ड अवरुद्ध भएको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले गुइठे, जलथले, तितर, दाना, रुप्से क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध बनेको जानकारी दिए । केही ठाउँमा रुख ढलेर पनि सडक अवरुद्ध भएको छ ।

सडक विभाग र आयोजनाका ठेकेदार कम्पनीका उपकरण तथा मजदुर परिचालन गरेर पहिरो हटाउन थालिएको छ । सडक अवरुद्ध हुँदा मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई समस्या भएको छ ।

सडक अवरुद्ध हुदाँ मुस्ताङमा उत्पादन भएको आलु लगायत कृषिउपज निकासी, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी रोकिएका छन् ।

  • ६ भाद्र २०७९, सोमबार ०९:२२ प्रकाशित