रौतहट ।
कुलोको विवादमा भएको कुटपिटबाट एक वृद्धको ज्यान गएको छ ।
रौतहटको चन्द्रनिगाहापुर–४ स्थित पैनिटोल बस्ने ७७ वर्षका गोपाल घिमिरेको कुटपिटबाट मृत्यु भएको हो। साउन २८ मा कुलोको विषयमा विवाद हुँदा उनीमाथि कुटपिट भएको थियो । उपचारका क्रममा उनको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

कुलोमा फोहोर जम्मा भएको विषयमा विवाद हुँदा एउटा समूहले उनीमाथि आक्रमण गरेको थियो । घिमिरेको मृत्यु भएपछि स्थानीयले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर अगाडि प्रदर्शन गरेका छन् । स्थानीयले ‘कर्तव्य ज्यान मुद्दा’ दर्ता गरेर घटनाबारे अनुसन्धान गर्न माग गरेका छन् ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।














