काठमाडौं ।
समाजिक चिन्तक तथा नेपाली कांग्रेसका नेता, प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधन भएको छ । गिरीको उपचारमा संलग्न मेडिसिटी अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. पंकज वर्मनका अनुसार उपचारको क्रममा उनको शनिबार राती ९ः ३० बजे निधन भएको हो ।
करिब पाँच वर्षअघि देखि नेता गिरीलाई घाँटीको क्यान्सरले सताएको थियो । त्यसपछि उनले भारतमा उपचार गरेका थिए । त्यसयता उनी पटक–पटक उपचारका लागि भारत जाने र आउनेक्रम चलिरहेको थियो ।
यसपटक पनि लामो उपचारपछि नेपाल फर्किएका गिरी साउन पहिलो साता ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पताल भर्ना भएका थिए ।
घाँटीको क्यान्सरको संक्रमण शरीरका अन्य भागमा समेत फैलिएपछि शुक्रबारदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो ।
अहिले कांग्रेसका नेता कार्यकर्ताहरु मेडिसिटी अस्पताल पुगेका छन् । गिरीको पार्थिव शरीरलाई बिहान नौ देखि ११ बजे सम्म अस्पतालकै शिवालय मन्दिरमा राखिने त्यसपछि पार्टी कार्यालय लगिने कांग्रेस नेता दीपकुमार उपाध्यायले जानकारी दिए । पार्टी कार्यालयमा दिउँसो ४ बजेसम्म राखेपछि आइतबारै उनको अन्तिम संस्कार गरिने छ ।
सिरहाको बस्तीपुरमा २००४ सालमा बुवा मित्रलाल गिरी र पुण्यप्रभा गिरीको कोखबाट जन्मिएका गिरीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए ।
लामो समय नेपाली कांग्रेसमा रहेर राजनीति गरेपनि बौद्धिक नेताको छवि बनाएका गिरीलाई अन्य राजनीतिक दर्शन अबलम्बन गर्नेहरुले पनि उत्तिकै सम्मान गर्छन् । नेपालका सबैजसो राजनीतिक आन्दोलनलाई नजिकबाट नियालेका गिरी कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका सहयात्रीसमेत हुन् ।
गिरी र कोइरालाहरूबीच बनारसमा छात्र संघमा चुनाव लड्दादेखिको राजनीतिक संगत थियो । राजनीतिक संघर्षकै क्रममा गिरीले करिब चार वर्ष जेल जीवन बिताए ।
२०५१ सालदेखि संसदीय राजनीतिमा सक्रिय बनेका गरी ०५६ चुनावमा पराजित भए । ०६४ र ०७० को संविधानसभामा समानुपातिक सांसदकोरुपमा संविधान लेख्ने कार्यमा सक्रिय गिरीले ०७४ मा भने प्रत्यक्षतर्फ नै चुनाव जितेका थिए । तर पटक पटक सांसद बनेका गिरी मन्त्री भने बनेनन्, मन्त्री बन्न लालायित भएनन् ।
अध्ययन, अनुसन्धान र लेखनमा रुचि राख्ने गिरीका लेलिनको जीवनी, नारी, मार्क्सवाद र अर्थशास्त्र लगायत विषयमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।
उनको निधनले मुलुकले अपुरणीय क्षति व्योहोरेको कांग्रेस नेताहरुले बताएका छन् । कांग्रेस संसदीय दलका सचेतक मीन विश्वकर्माले शोक विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली र परिवारजनमा शोक व्यक्त गरेका छन् ।














