काठमाडौं ।
अहिले पोखरासहित आसपासका क्षेत्रमा बिहानै देखि घाम चर्किएको छ । बिहानैदेखि घाम चर्किएपछि सर्वसाधारणले आज दिउँसो गर्मी अझ बढ्ने अनुमान गरेका छन् । तर मौसम पूर्वानुमान महाशाखाले भने
आज दिउँसो देशका पहाडी भू-भागमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राती लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेको देशका पहाडी भू-भागमा पहिरो र नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ । तराईका जिल्लामा बाढी आउन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।














