काठमाडौं ।
मंसिर ४ गते चुनाव हुने घोषण गरेसँगै सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुलाउने भएको छ ।
प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भएकाले म्यादी प्रहरी भर्ना खुलाउने भएको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईको अनुसार अब प्रदेश तथा प्रतिनिसभा निर्वाचनका लागि विशेष योजना योजना बन्ने छ र त्यही अनुसार म्यादी प्रहरीको भर्ना खोलिनेछ । यसपालीको म्यादी प्रहरीमा भर्ना लिने क्रममा यसअघि स्थानीय तहमा खटिएका म्यादी प्रहरीलाई प्राथमिकता दिने राईले बताएका छन् ।
सुरक्षा योजनालाई केन्द्रीय सुरक्षा समितिले स्वीकृत गरेपछि लागू हुन्छ । चुनावमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार घेराको सुरक्षा व्यवस्था रहन्छ । म्यादी प्रहरीले प्रहरीको प्रत्यक्ष मातहतमा रहेर काम गर्छ ।
स्थानीय तहको निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो ।














