काठमाडौं ।
सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पसेपछि स्थानीयले घरगाँउ छाडेका छन् ।
आज बिहान ४ बजेदेखि बाँध बस्ती पसेपछि उदयपुरको वेलका नगरपालिकाका स्थानीयले गाउँ छाडेका हुन् ।स्थानीयले लत्ताकपडा लगायतका आवश्यक सामाग्री बोकेर सुरक्षित स्थान तर्फ लागेका छन् ।
प्रभावितले पशुधन, लत्ताकपडा बोकेर गाउँ छोडेको तस्वीर सामाजिक सञ्जालमा देखिन्छ । उनीहरूले सुरक्षित स्थान खोज्दै गाउँ छोडे पनि कहाँ बस्ने भन्ने टुंगो लागि सकेको छैन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार अहिले नदीले ५० मिटर बाँध कटान गरी बस्तीमा पसिसकेको छ । त्यस क्षेत्रका नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।
प्रभावित क्षेत्रका सबै नागरिकलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा लैजान गृहमन्त्री बालकृष्ण खाँणले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
अहिले प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय, नगरपालिका र स्थानीय स्वयमसेवको टोलीले प्रभावितको उद्धार गरिरहेको छ ।
वेलकामा मात्रै २० हजार बढी नागरिक विस्थापित हुने आकंलन गरिएको छ । प्रभावितहरूका लागि अस्थायी निवासको खोजी कार्य भइरहेको छ ।