कास्कीसहित यी जिल्लामा पहिरोले सडक अवरुद्ध

केन्द्रभाग मिडिया

File photo

निरन्तर परेको अविरल वर्षाले देशका विभिन्न जिल्लामा पहिरो गएको छ ।

पहिरोको कारण सडकहरु अवरुद्ध भएका छन् । हालसम्म प्राप्त जानकारी अनुसार धादिङ, चितवन र कास्कीका विभिन्न स्थानमा सडकहरु अवरुद्ध भएका छन् । सडक पहिरोले बन्द हुदाँ यात्रुहरु मर्कामा परेका छन् ।

कास्कीको पोखरा महानगरपालिका बेगनासबाट लमजुङको भोर्लेटार जाने सडक र कास्कीकै नयाँपुल घान्द्रुक उल्लेरी सडक खण्ड पहिरोले अवरुद्ध भएको छ । पानी परिरहेकाले पहिरो हटाउन कठिन भएको बताइएको छ ।

उता धादिङको तिङ्ग्राङ खानी र चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो जाँदा काठमाडौं उपत्यकाबाट उक्त सडकखण्ड हुँदै देशका विभिन्न स्थानमा आउ-जाउ गर्ने लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो गएका कारण गएरातिदेखि नै आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरो हटाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रातिदेखि रोकिएका सवारी साधनहरुको लामो लाइन छ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङस्थित बेनिघाट रोराङ गाउँपालिका(१० तिङ्ग्राङ खानीमा आज बिहान तीन बजे पहिरो खसेकाले सवारी आवागमन अवरुद्ध भएको छ । त्यहाँको पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

  • १७ श्रावण २०७९, मंगलवार ०८:४० प्रकाशित