काठमाडौं ।
बचतकर्ताको रकम लिएर एक सहकारीका सञ्चालक फरार भएका छन् ।
राजधानी काठमाडौंलाई नै मुख्य व्यवसायिक क्षेत्र बनाएर सञ्चालनमा रहेको गौतमश्री सहकारी संस्थाका सञ्चालक बचतकर्ताहरुको रकम लिएर फरार भएका हुन् ।
काठमाडौंको कुलेश्वरमा मुख्य कार्यालय रहेको सहकारीका सञ्चालक झण्डै २५ सय सदस्यहरुको बचत रकम फिर्ता नगरी फरार भएका हुन् । सदस्यहरुको बचत रकम फिर्ता नगरी फरार भएको भन्दै सहकारी संस्थाका सञ्चालकविरुद्ध सहकारी विभागमा उजुरी परेको छ ।
लामो समयदेखि बचतकर्ताहरुको बचत रकम फिर्ता गर्न नसकेर समस्यामा परेको सहकारीले गत शुक्रबार मुख्य कार्यालयमा नै ताल्चा लगाएर भागेपछि सदस्यहरु आन्दोलित भएका छन् ।
फरार सहकारीलाई खोजेर बचत रकम फिर्ता गराइदिन भन्दै गौतमश्री सहकारीका करिब १५ सय बचतकर्ताहरु आइतबार विभागमा उजुरी दिन पुगेका छन् ।














